योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, पोर्चुगल, १८ पुस । देशबाट करिब साढे आठ हजार किलोमिटर टाढा रहेर पनि दुई सय ५० भन्दा बढी नेपालीहरु कलाकारहरुसंगै माच्छापुच्छ्रेसंग रमाए, विदेश नजान अनुरोध गरे युवा जमातलाई । तर गीत र नाच सिद्धिदा पो झसङ्ग भए 'हामीले नै गर्नुपर्छ देशका लागि' भनेर सचेतना फैलाउने कलाकार स्वयं लिस्बोनमा नाच्दै रहेछन ।
यस्तै रमझममा आज २५९५ औं ल्होछार पर्वको अवसर पारी सात समुन्द्र वारि रहेका नेपाली र पोर्चुगीसहरुबीच सुख, शान्ति र समृद्धिको कामना गर्दै एक भव्य साँस्कृतिक साँझ सम्पन्न भएको छ ।कार्यक्रममा शुभकामना दिनु हुँदै दुई पोर्चुगीस अतिथिहरु टेलिभिजनकर्मी फोरियो ओर्नियो र डा. ट्रेजाले चिसा देशबाट आएका भए पनि नेपालीहरु न्यानो हृदय भएको पाइएको बताउनुभएको छ । उहाँहरुको भनाइ थियो : 'ल्होसार जस्तै नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गर्न सकेमा नेपालमा पोर्चुगीस पर्यटकहरुको संख्यामा वृद्धि हुन सक्नेछ ।'
शुभकामना दिनु हुँदै एनआरएन पोर्चुगलका उपाध्यक्ष भीम केसी 'कमल' ले सबैजना अलिक रचनात्मक भएर नेपालीहरुको रोजगारी र बसाइको सहजताका लागि केही पहलकदमी गर्न आग्रह गर्नुभयो । कार्यक्रममा एनआरएन पोर्चुगलका पूर्वअध्यक्ष पूर्ण हमाल, जनजाति महासंघका महासचिव दावा पाख्रिन,शेर्पा समाजका सोनाम शेर्पा, मगर समाजका राम पुन लगायतका अथितिहरुले कार्यक्रम सफलता र ल्होसारको शुभकामना व्यक्त गर्नुभएको थियो ।
खानपिनसहितको साँस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा भेषभुषामा सजिएका गुरुङ युवायुवतीहरुको कौडा, सालैजो, देशभक्तिपूर्ण, प्रेमप्रीति र गुरुङ भाषाका साँस्कृतिक गीत तथा नृत्यहरुले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । यहाँका तमु समाजले आफ्नो महान् सांस्कृतिक पर्व वाघ वर्गलाई विदाई गरी हि ल्हो (बिरालो वर्ग) को स्वागत गर्दै ल्होछारको अवसरमा ल्होसार साँझको आयोजना गरेको हो । गुरुङहरुको साँस्कृतिक तथा धार्मिक मान्यता अनुसार १२ वटा वर्ग चक्रहरु बाघ, गाई, मुसा, मृग, कुकुर, चरा, बाँदर, भेडा, सर्प, घोडा, बिरालो र गिद्ध एकआपसमा समानान्तर भई घुमी रहन्छन । ल्होसारको शाब्दिक अर्थ ल्हो भन्नाले वर्ग र सार भन्नाले एकबाट अर्कोमा सर्दे जाने भएकोले यसलाई ल्होसार भनिएको हो । यहाँ करिब एक सय ५० गुरुङहरु रहेका छन् ।
बारोस्सो इस्टाफानियामा सम्पन्न कार्यक्रमको अध्यक्षता तमु समाज पोर्चुगलका सल्लाहकार वुद्धिमान तमु, संयुक्त उद्घाटन कार्यबाहक अध्यक्ष कमल गुरुङ र सल्लाहकार रमेश गुरुङ र सञ्चालन महासचिव गङ्गा गुरुङले गर्नुभएको थियो । ल्होसारको परिचयसहित पञ्च गुरुङले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यबाहक अध्यक्ष कमल गुरुङले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद प्रकट गर्नुभयो भने कार्यक्रमलाई सहयोग पुर्याउने कलाकारहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
