"यो शहर हाम्रो हो । सरकार मात्र होइन, यसलाई सभ्य र सुसंस्कृत बनाउनका लागि हामी पनि जिम्मेवार हुनुपर्छ ।"
लगभग १८-२० वर्ष उमेरका १५-२० जना पोर्तुगीस युवायुवतीहरुको भनाइ हो यो । यिनीहरु हातमा ब्रुश, कुचो, बेल्चा, बाल्टी, प्लाष्टिकका थैली समाएका छन्, हरेकले हातमा पञ्जा लगाएका छन् ।
रमाइलो लाग्नेगरी गल्लीमा रहेका फोहोर सफा गर्दै छन् । मलाई चासो लाग्यो यिनीहरु सायद विद्यार्थीहरु पो हुन् कि ? कुनै अवसर पारेर यसरी सरसफाई गर्दै होलान् । समूह नजिक गएर पोर्तुगीस भाषामा सोधे : तपाई अंग्रेजी बोल्नु हुन्छ होला कि ?
एउटी केटी र अर्को केटा बोल्दैन रहेछन् । तिनीहरुले तेश्रो एउटी केटीलाई देखाए । उनी कारोलिना रहिछन् । उनको अभियानबारे बुझ्ने प्रयास गरे । उनीहरु एउटा संस्थामा आवद्ध रहेछन् । थुप्रै युवाहरु संस्थामा आवद्ध हुन रमाउँदा रहेछन् । सेन्ट्रो मोभमेन्टो नामक यो संस्थाले पोर्तुगलको राजधानी शहर लिस्बोनको मार्टिम मोनिज आसपासमा काम गर्दो रहेछ ।
"हामीहरु हरेक शुक्रबार साढे ११ देखि साढे १२ बजेसम्म हप्तामा १ दिन सरसफाई गर्ने गर्छौ । हप्तैपिच्छे एउटा एउटा ठाउँ छनौट गरेर सफाइ गर्ने गरिन्छ ।" कारोलिनाले भनिन् : "यस्तो अभियान हामीले जनवरीदेखि जुलाईसम्म चलाउने गर्दछौ । साथीहरुसँग गल्लीको सरसफाई गर्न पनि एकदम रमाइलो लाग्छ ।"
कारोलिना मसँग कुरा गर्दै गर्दा अरु युवायुवतीहरु हाँस्दै रमाउँदै ब्रुश घोट्दै थिए, झाडु लगाउदै थिए । बिछाइएका ढुङ्गाहरु टल्काइदै थियो, फोहोर पानीसमेत सुकाएर सफा गरिदै थियो । सफाइ यत्ति मिहेनत लगाइएको देखिन्थ्यो कि मानौ त्यहाँ कडा निरीक्षणमा पास हुनुपर्नेछ । यो उनीहरुको स्वयंसेवी नमूना सरसफाई अभियान रहेछ । मैले बडो राम्रो काम गर्नुहुने रहेछ भनेर तारिफ गर्दा उनले भनिन् :"हाम्रो अभियानबारे केही लेख्नुभयो भने नेपाली भाषामै भए पनि मेरो इमेलमा तपाईको वेबसाइटको लिङ्क पठाउनु होला है योगेन्द्रजी ?" मैले 'ओ.के.' भनेर जवाफ दिएँ ।