एनआरएन पोर्तुगलको आसन्न निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिनुभएका योगेन्द्रमिलन छन्त्यालले दलहरुले एनआरएनको गठनमा राजनीति गरेको आरोप लगाउदै प्रजातान्त्रिक अभ्यास अनुरुप चुनावी मैदानमा पुगेको बेला राजनीतिक दलहरुले अर्को अराजनीतिक प्रचारबाजी गरेको जनाउनुभएको छ । उहाँको विज्ञप्तिको पूर्ण पाठ :
प्रेस विज्ञप्ति
एनआरएन गैह्र राजनीतिक संस्था भएकोले राजनीतिक, क्षेत्रीय, जातीय र लैंगिक विभेद नगरेर स्वतन्त्र र निष्पक्ष रुपमा सम्पूर्ण नेपालीहरुको वकालत गर्न मे २९ मा हुने अधिवेशनमा मैले पनि उम्मेदवारी दिएको छु ।
राजनीतिक दलहरुले मेरोविरुद्ध तथ्यहीन र तोडमोडपूर्ण प्रचारवाजी र प्रेस विज्ञप्तिसमेत प्रकाशन गरी अत्यन्त लज्जास्पद व्यवहार प्रदर्शन गरेकोमा मलाई दु:ख लागेको छ । निर्वाचन प्रक्रियामा जान पाउनु मेरो अधिकार छैन ? दलहरुले पदको बिलो लगाउने गलत संस्कारकोविरुद्ध एकजना योग्य व्यक्तिले उम्मेदवारी दिदा सहमतिको विरुद्धमा सामाजिक एकतामा खलल पुग्छ ? जारी गरिएको प्रेस विज्ञप्तिमा नाम उल्लेख भएका महाशयहरुको वाणीमा 'तपाई योग्य रहेको तर काम गर्ने चाहना भएको भए समेट्ने थियौ' भन्ने शब्दहरु आफूले हातमा थुकेर आफै चाट्न घिन नलागे सरह ठानेको छु ।तीनै दलनिकट समर्थक, सुभचिन्तक र स्वतन्त्र नेपालीहरुको समर्थन पाउदै मेरो जित हुने चर्चापछि अत्तालिएर यस्तो टिकाटिप्पणीको प्रपञ्च रचिएको कुरा स्पष्ट छ । कुन व्यक्तिले पोर्चुगलको सामाजिक अवस्थाबारे कति यथार्थ जानकारी राख्छ भन्ने कुरा एकजनाको उम्मेदवारीले भूइँचालो गएको उदाहरणबाटै प्रष्ट हुन्छ । याद त राख्नुपर्ने हो नेता भएकाहरुले : अजम्बरी अध्यक्ष बन्ने होइन उहाँहरु । तेर्स्याउदै गरेको बन्दूक पड्कने हो कि होइन । भोलि झड्याम्मै पड्कने बन्दूकले उहाँहरुतिर पो तेर्सिने हो कि ? गैह्र राजनीतिक संस्थामा बिलो लगाएपछि निर्वाचनमा स्वच्छ प्रतिष्पर्धा गर्न डराएर व्यक्तिगत छविमा आँच आउँने गरी राजनीतिक नेत्रित्व गरेकाहरुले गैह्र राजनीतिक चरित्र प्रदर्शन गरेको घटनाप्रति राजनीतिक दल, एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति र सम्पूर्ण न्यायको पक्षपाती नेपाली दिदीबहिनी तथा दाजुभाइहरुको ध्यानाकर्षणका लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।
पोर्तुगलमा घामजस्तै छर्लङ्ग छ : लोकतान्त्रिक मञ्चले जनप्रगतिशिल मञ्चलाई भुसुनोभन्दा ठूलो देख्दैन । जन सम्पर्क मञ्चको वर्ग शत्रु नै हो रे,लोकतान्त्रिकका नेता भनाउदाहरु यसै भन्ने गर्छन् । लोकतान्त्रिक मञ्चमै वर्षौको समय, तन, मन, धन दिने मित्रहरुलाईभन्दा चल्तापुर्जाका आसेपासेहरुलाई टपक्क टिपेर एनआरएनमा पठाइएको कुरा पनि लुकाएर लुक्न सक्दैन । त्यसैले सबै राजनीतिक दलनिकटका समर्थक र शुभचिन्तकहरुलाई मेरो अनुरोध छ : मेरो जित भनेको जन सम्पर्क समितिको जित हुनेछ, जन प्रगतिशील मञ्चको जित हुनेछ । लोकतान्त्रिक मञ्चको असल संस्कारको समेत जित हुनेछ । किनभने गलत संस्कारले आज केहीलाई फाइदा पुगेको छ, हामीले ठिकै त होला भनेर मौन समर्थन गर्दै रह्यौ भने भविश्यमा ठूलो समस्याको शिकार हामी बन्न सक्छौ ।
पोर्तुगलसहितका अन्य देशहरुमा समेत थाहा छ कि मैले स्वतन्त्ररुपमा पत्रकारितालाई जोड दिदै आएको छु । म तटस्थ रुपमा काम गर्दै गर्दा जातिय,क्षेत्रीय, राजनीतिक र लैंगिक पक्षको कुरा गर्नु कत्तिको सुहाउँला ? के मैले यो विचार गर्दैन होला कि पोर्तुगलमा सबै जाति, क्षेत्र र विचारका नेपालीहरु हुनु हुन्छ भनेर ? तसर्थ मेराविरुद्धका भ्रमपूर्ण, कपोलकल्पित, निराधार, अराजनीतिक र असामाजिक प्रचारवाजीले भोलि यहाँलाईसमेत प्रताडित बनाउन नसक्ने सम्भावना हुँदैन । यस्तो दुष्चक्रलाई झापड दिदै यहाँहरुको अमूल्य मत मलाई दिएर अत्यधिक बहुमतले विजय गराउनु हुन अनुरोध र विजयी बनाउनुभएमा म सधै तपाईको साथमा रहने प्रतिवद्धता जाहेर गर्न पनि चाहन्छु ।
योगेन्द्रमिलन छन्त्याल
सचिव पदको उम्मेदवार
२६ मे २०११