Saturday, January 21, 2012

'भ्यालेन्टाइन डे,' प्रेम प्रस्ताव राख्ने उपयुक्त अवसर


तपाईले कुनै केटा वा केटी मन पराउनुभएको छ ? अनि प्रेम प्रस्ताव राख्न सक्नुभएको छैन ? त्यसो भए सुवर्ण अवसर आज हो l आज प्रेम दिवस अर्थात् 'भ्यालेन्टाइन डे' l हरेक वर्षको १४ फेब्रुअरीका दिन 'भ्यालेन्टाइन डे' मनाइने गरिन्छ ।

विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने 'भ्यालेन्टाइन डे' ले विश्वव्यापी मान्यता पाएको र नेपाली समाजमा समेत जरो गाडिसकेको छ । देश र संस्कृतिको सीमा छिचोल्दै नेपाली युवामाझ लोकप्रियता पाएको छ ।
प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदि आदानप्रदान गर्नुका साथै यस दिनलाई प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा लिने गरिन्छ ।

संसारका लाखौ युवायुवती आजबाट नयाँ जीवनको शुरुवात गर्दछन l तपाई हामीले मन परेकालाई प्रेम प्रस्ताव राख्न सकिन्छ । यस दिन राखिएका प्रेम प्रस्तावलाई प्रेमी वा प्रेमीकाले सहजै इन्कार गर्न सक्दैनन भन्ने जनविश्वास छ ।

आजको दिनमा रोमियो जुलियट, लैला मझ्नु र सारजहा मुमताजजस्ता प्रसिद्ध प्रेम कहानीहरुलाई स्मरण गर्दै आफ्नो प्रेमकहानी पनि यस्तै दीगो र भविष्य उज्ज्वल होस् भनेर कामना गर्ने प्रचलन पनि रहेको छ ।

'यदि तपाई कसैलाई पहिलो पटक प्रेम प्रस्ताव राख्दै हुनुहुन्छ भने पहिले आफुमा आत्मविश्वास बढाउनुस । यदि अस्वीकार गरेमा आफुलाई सम्हाल्ने धैर्यता विकाश गर्नुस ।' जर्मनीकी २३ वर्षीया आन्या म्हुलर भन्नुहुन्छ : 'पूरा आत्मविश्वासकासाथ प्रेम व्यक्त गर्नुभयो भने पक्कै पनि तपाईले सकारात्मक जवाफ पाउने सम्भावना धेरै हुन्छ ।'

चितवन घर भइ हाल दुबईमा रहनुभएका ३५ वर्षीय हिरामणी पोखरेलले यों संसार नै मायापीरति गाँस्दै एक आपसमा खुशी बाँडेर आनन्दमा रम्नुपर्ने बताउँनुहुन्छ : "आज प्रेम दिवसमा मैले आफ्नो जीवनसंगीनीलाई सम्झेको छु l उनलाई मायालु बोलिबाट फोन गर्दै प्रेम दर्शाउँदै छु l नेपालीहरूले माया प्रेम व्यक्त गर्ने दिनको रुपमा मान्नुपर्छ जस्तो लाग्दैन l माया प्रेम भन्ने चीज अन्तर आत्माबाट प्रस्फुटित हुन्छ l बिस्तारै प्रेमिकालाई अवगत गराउन सकिन्छ, बिदेशीको नक्कल नै गरी यों दिन कुर्नु पर्दैन जस्तो लाग्छ मलाई l"

संखुवासभा घर भइ बेल्जियममा रहनुभएका ४१ वर्षीय युवराज गुरुङ यो दिनको जुन सम्मान गर्नुपर्ने पृष्ठभूमि छ, त्यसैको कारण आफूले प्रेम दिवस मनाउने बताउनुहुन्छ l "सिपाहीको योगदानको दिन हृदयका अनुभवहरु आदानप्रदान गरेर मनाउनुपर्ला l" उहाँको तर्क रहेको छ l



"४-५ वर्ष पहिलेदेखि प्रेम दिवसबारे थाहा भए पनि आजको प्रेम दिवस कसरी मनाउने भन्ने योजना बनाएको छैन l नेपालीले यो दिवस मनाउनैपर्छ भन्ने छैन l" सुनसरीकी ३२ वर्षीय इकुकुमारी राइले भन्नुभयो : "यो पाश्चात्य संस्कृति हो नेपालका आफ्नै संस्कृति छन् l प्रेम दिवस मनाउनु उपयुक्त छैन l" ९-१० वर्ष पहिलेदेखि प्रेम दिवसबारे थाहा पाए पनि यसबारे अरु थाहा नभएको बताउंनुहुन्छ सिन्धुपाल्चोककी केशांग ओमु लामा l २७ वर्षीय विवाहित लामा भन्नुहुन्छ "तर श्रीमानलाई ह्याप्पी भ्यालेन्टाइन डे भन्नुपर्ला र अलिकति उपहार आदानप्रदान गर्नुपर्ला l"

तेस्रो शताब्दीको अन्त्यतिर रोमन साम्राज्यमा दुवै आँखा गुमाएकी एक साधरण जेलरको छोरीलाई प्रेम गरेको अभियोगमा भ्यालेन्टाइन नाम गरेका पादरीले मृत्यु दण्डको सजाय भोग्नु परेको घटना सबैका निम्ति उदाहरणीय बनेको छ । आफ्नो दुवै आँखा प्रेमीकालाई दान गरी गौरवसाथ मृत्युलाई अंगालेको दिन फेब्रुअरी १४ अर्थात 'भ्यालेन्टाइन डे' ले सच्चा प्रेमको जरुरतको महत्व दर्शाउदछ l

गुलाफको फूल उपहार

यो दिन विश्वभरि करोडौँ डलरको गुलाफको फूलको व्यापार हुने गर्दछ । तपाईले गुलाफ उपहार दिदै हुनुहुन्छ भने रंगको अर्थबारे जानकारी राख्दा राम्रो हुन सक्छ l भ्यालेन्टाइन डे' मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यो शान्ति, प्रेम, मनोभावना र क्षमताको प्रतीक हो l फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो ।

गुलाबी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ । गुलाबी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । पहेँलो गुलाफचाही मित्रताको प्रतीक मानिन्छ । मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा 'भ्यालेन्टाइन डे' मा पनि यसको प्रयोग हुन थालिसकेको छ । सेता गुलाफ साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक हो l भावुकताले
भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ ।

कसैलाई फूल वा उपहार दिने योजना नबनाउनेहरुलाई भने 'भ्यालेन्टाइन डे' को कुनै आइतबार छैन l साथीहरुको अभिव्यक्ति र सलबलपछि म भने दोधारमा पर्नैपर्ने स्थितिमा पुगे अनि फेसबुकमा यस्तो स्टाटस टांसे : ' ‎'भ्यालेन्टाइन डे' मा कल्लाई इलु भन्नु नि ? आफ्नी नेपालाँ छट्पटाउँदै होलिन् । उनैलाई सम्झदै यो वर्ष पनि मन बाँध्न पर्नेभो । भन्या' जस्तो भै'छ भने आगौ एउटा एकान्त बगैचामा लिएर जानुपर्ला उनलाई । अनि मनको कुरा गर्नुपर्ला, सपनाको कुरा गर्नुपर्ला । भ्यालेन्टाइन हो रे, यही सोचियो आज । Anyway, Happy Valentine Day मित्रहरु !!