Saturday, January 21, 2012

इनेस ब्रान्कोको "पोर्तुगलमा नेपालीहरु र पोर्तुगीस भाषा" प्रस्तुत


योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, पोर्तुगल, २२ चैत्र । एकजना लिस्बोन विश्वविद्यालयकी विद्यार्थी इनेस ब्रान्कोले आज "पोर्तुगलमा नेपालीहरु र पोर्तुगीस भाषा" विषयमा तयार पार्नुभएको सोधपत्र प्रस्तुत गर्नुभएको छ ।

इनेसले आफ्नो संस्कृति विषयका लागि नेपाली समुदाय छनौट गरी अध्ययन शुरु गरेको र निरन्तरता दिने बताउनु हुँदै नेपाली समुदायकै बीचमा सोधपत्र प्रस्तुत गर्नुभएको हो ।


'धेरै संख्यामा शिक्षित र देशका हर्ताकर्ता नेपालीहरु पोर्तुगलमा आप्रवासीका रुपमा भित्रिदै रहेका छन् ।' प्रस्तोताले आफ्नो सोधपत्रमा नेपाली समुदायबाटै प्राप्त तथ्याङ्क भन्दै उल्लेख गर्नुभएको छ, 'नेपालीहरु काम पाउनका लागि मात्र सिक्दैनन्, अपितु अलिक सभ्य जीवन र पोर्तुगीसहरुसँग औपचारिक तथा अनौपचारिक कुराकानी गर्ने इच्छाका साथ पोर्तुगीस भाषा सिक्न रुचि राख्दछन् ।'

कार्यक्रममा विश्वविद्यालयकै अर्की ब्राजिलियन विद्यार्थी क्यारोलिना कोस्टाले नेपाली समुदाय विषय छनौट गरी अध्ययन गर्नुभएको इनेसको सोधपत्र रोचक र चाखलाग्दो रहेको बताउनुभयो ।

सोधपत्रको निष्कर्षमा भनिएको छ : सजिलोसँग बसोवास गर्न कार्ड पाइने, नेपालजस्तै मौसम र भविष्यमा अरु बढी प्रगति गर्ने उद्देश्यले नेपालीहरु पोर्तुगल भित्रिने गरेको पाइएको छ । सोधपत्र पोर्तुगीस भाषामा तयार गरे पनि प्रस्तोताद्वयले अंग्रेजीमा प्रस्तुत गरेका थिए ।

कार्यक्रम एनआरएनको सभाकक्ष, रोस्सियोमा सम्पन्न भएको थियो । सोधपत्रमा नेपाली समुदायलाई माया गरेकी ब्रान्कोको प्रस्तुतिमा दर्जनौ युवाहरुको सहभागिता रहेको थियो ।