योगेन्द्रमिलन छन्त्याल्, लिस्बोन, पोर्तुगल, ४ बैशाख ।
तपाईले रमाइलो गरेर नयाँ वर्षमा प्रवेश गर्नुभयो होला । रमाइला रमाइला कार्यक्रमको आयोजना भएका होलान्, हैन र ?
तपाईले जस्तै पोर्तुगलमा रहेका नेपालीहरुले पनि आज नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान गरेका छन् ।
सबैको फूर्सदिलो समय आइतबार, ठ्याक्कै सयको हाराहारीमा नेपालीहरु भेटघाट भए, मुस्कानसहित मीठा मीठा वाक्यहरुमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरे । कार्यक्रममा थुप्रै किसिमका परिकारहरु थिए, पिउनलाई इच्छा अनुसारका पेय पदार्थहरु उपलब्ध थिए । खाए, पिए, व्यस्तताका कारण मुश्किलले भएको भेटमा सुखदुख र प्रवासका व्यवहारबारे कुराकानी गरे ।अब नाचगान शुरु भयो । हाँस्दा, गाउदा, बजाउदा र नाच्दा नेपालको झझल्को कस्लाई आउथेन र ? आयोजक नेपाली लोकतान्त्रिक मञ्चका समर्थकहरु मात्र हैन, संघसंस्था र अन्य दलसंग सम्बन्धित मोर्चाका प्रमुख र प्रतिनिधिहरु पनि पालो गनी गनी नाचीरहेका थिए । मादलको राग तालीले ओझेलमा पार्थ्यो, रमाइलो त लाग्ने नै भयो ।
यस्तो रमाइलोबीच मुसुक्क हाँस्दै एकजना युवकले गाउनुभयो :
"के गर्यो पैसाले ? पायो दु:ख कलिलो वैशले ।"
सबै हास्ने मुहारहरु मलिन हुँदै दाँत देखाएनन्, नाच्ने खुट्टाहरु लर्बरिए, कत्ति जोडा खुट्टाहरु पूरै रोक्किए ।
आयोजक एनडिएफ पोर्तुगलका महासचिव उमेश चौलागाइँले हामीलाई भन्नुभयो : "देशको राजनीतिक कारणले विदेशिन बाध्य हामी नेपालीहरुबीच रमाइलो गर्दै शुभकामना आदानप्रदान गर्ने उद्देश्यकासाथ वनभोजको आयोजना गरेका हौ । यस्ता कार्यक्रमहरुबाट हामी आजित भैसकेकाले औपचारिकताबिना कार्यक्रम बनाएका थियौ, आयोजकले सोचेजस्तै सफल भयो ।"
कार्यक्रममा जस्तै सबै नेपालीहरु हाँस्ने रमाउने बनुन् अबका नयाँ वर्ष र यसपछिका समयहरुमा । देशमा राजनीतिक वातावरण सप्रियोस् र गायकले जस्तो पीडा पोख्ने वातावरणको अन्त्य होस् । फेरि यही कामना गर्दै लिस्बोनको अभलादे पार्कमा कार्यक्रम सम्पन्न भयो ।