Saturday, January 21, 2012

'दासढुङ्गा सुनियोजित हत्याकाण्ड रहेछ'


योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, पोर्तुगल, २९ फागुन ।

'दासढुङ्गा सुनियोजित षडयन्त्र रहेछ । दुर्घटनाका प्रत्यक्षदर्शी अमर लामाको बाँझिने बयानले झन शंका थपिदिएको छ ।' चलचित्र दासढुङ्गा हेरेपछि दर्शकहरुले यही कुरा बताएका छन् ।

चलचित्रमा चितवन आसपासका दुर्घटनाबारे थाहा पाएका लगभग एक दर्जन पात्रहरुको भनाई सुन्ने हो भने दुर्घटना षडयन्त्रमूलक भएको स्पष्ट हुन्छ ।
अमर लामाले यी पात्रहरुकासामु आफु गाडीसँगै नदीमा डुबेको तर पौडिएर बाँच्न सफल भएको बताउँछन् । तर ठाउँ ठाउँमा पैसा निकाल्दा उनको पैसा भिजेको पाइदैन । ट्रक नम्बर ६२० का सुन्दर लामाले त ड्राइभर ओर्लिएर गाडी नदीमा हुर्‍याइदिएको बताएका छन् । लाशको पोष्टमार्टम र गाडीको मेकानिकल रिपोर्ट अनुसार पनि दासढुङ्गा एउटा सामान्य दुर्घटना नभइ षडयन्त्रमूलक हत्या नै भएको प्रष्टिन्छ । चलचित्रमा यी कथावस्तु विभिन्न आयोगहरुका प्रतिवेदनहरुबाट वास्तविक तथ्यहरु समावेश गरेको कुरालाई जोड दिइएको छ ।

चलचित्रका नायक अनुप बराल (किरण)ले बयान लिंदा अमर लामाको भूमिका निर्वाह गर्नुभएका दयाहाङ राई भन्छन् : 'त्यत्तिबेला के के भनियो थाहा भएन, लगभग २५-३० मिटर वरबाट गाडी दायाबाया हुन थाल्यो । नियन्त्रणमा लिन खोज्दाखोज्दै गाडी थुम्कोमा बज्रन पुगेछ । म त्यही बाहिर हुत्तिएछु, कमरेडहरुको दुखद निधन भयो ।'

'नेपालमा एउटा सत्य बाटोमा हिड्ने मान्छेले कहिल्यै जस पाउदैन ।' चलचित्रमा नायक अनुप र नायिका सञ्चिता लुइँटेललाई घटनाबारे सत्यतथ्य पत्ता लगाउन अवरोध गर्ने अपराधी गिरोहहरुको जत्थाले आक्रमण गर्दाको क्षण स्मरण गर्दै एक दर्शक वीरवल गुरुङले भन्नुभयो : 'यो फ्लिम बनाउने समूहसँग पक्कै यी घटनाका दोषीहरुको सूची छ, सरकारले समन्वय र सहकार्य गरी यसको रहस्योद्घाटन गर्नुपर्दछ ।'

अर्को एउटा दृश्यमा, सुनकोशी रेस्टुरेण्ट र दासढुङ्गा बीचमा केही अपरिचित व्यक्तिहरु गाडीभित्र पस्छन् । मदन र आश्रितको मुख बन्द गरी रसायनिक वस्तु प्रयोग गरी मार्ने करतुत गरिन्छ ।

अर्का दर्शक मानशेर तामाङको पनि दासढुङ्गा दुर्घटना षडयन्त्रमूलक हत्याकाण्ड नै भएको ठहर छ । तामाङ भन्नुहुन्छ : 'देशका नेता मारिदा त यो हालत हुन्छ भने सर्वसाधरणहरुको अवस्था सहजै अनुमान गर्न सकिन्छ नेपालको । एमालेकै नेतृत्वमा सरकार बनेको छ, आफ्नै पार्टी नेताहरुको हत्याराहरु पत्ता लगाउन नचाहनु अर्को शंकास्पद र लज्जास्पद कुरो हो ।'

आयोजक संस्था नेपाल प्रजातान्त्रिक मञ्चका अध्यक्ष बालाराम बिकले भने यो रहस्यमय हत्याकाण्डको वास्तविकता अहिलेसम्म ढाकछोप गरिएको बताउँनुहुन्छ । बिकको भनाइ छ : 'कसको हात छ, पत्ता लगाइनुपर्छ । विश्वास छ, एकदिन सत्यतथ्य कुरा नागरिकसामु आउनेछ ।'

तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ का दिन रहस्यमय मोटर दुर्घटनामा निधन भएको थियो । मोटर चालक अमर लामाको पनि २०६० साल साउनमा हत्या भैसकेको छ । अपिल विष्टले निर्माण गर्नुभएको दासढुङ्गाको निर्देशन मनोज पण्डितले गर्नुभएको छ ।

दासढुङ्गा आज लिस्बोनको इस्टाफानियामा दुई चरण प्रदर्शन गरिएको थियो । आयोजकका अनुसार तीन सय नेपालीहरुले चलचित्र हेरेका छन् । प्रदर्शनबाट प्राप्त रकम खर्च कट्टा गरी निर्मातालाई दिइने कुरा अध्यक्ष बिकले बताउनुभएको छ ।