Wednesday, February 1, 2012

गैह्र आवासीय नेपाली संघ पोर्तुगलको तेश्रो अधिवेशन सम्पन्न


सहयात्रा डेस्क, १५ जेठ । गैह्र आवासीय नेपाली संघ पोर्तुगलको तेश्रो अधिवेशन आज सम्पन्न भएको छ । रमेश गुरुङको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमितिको चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

समितिका अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्षमा डिलाराम चापागाईं, उपाध्यक्षमा पेम्बा शेर्पा, कोषाध्यक्षमा सुरेन्द्र अमगाई र सह सचिवमा सोनाम दोर्जे योन्जन लामा चयन हुनु भएको छ  ।

लेखा समिति संयोजकमा खेम जुग्जाली मगर र सदस्यमा भेषराज आचार्य निर्वाचित हुनुभएको छ भने महिला र युवा प्रतिनिधिमा क्रमश: सीतादेवी बाँस्तोला बराल र गोविन्द दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा सुमन चौलागाई, धर्मलाल कँडेल, दिलिपकुमार सुनार, विष्णुप्रसाद सापकोटा, उमेश गुरुङ, लालबहादुर पुन, धनराज शेर्पा, कञ्चन श्रेष्ठ, पुरुषोतम सुवेदी, गिरीप्रसाद गाहा मगर र जयकला राई निर्वाचित हुनु भएको छ ।

सबै पदहरु निर्विरोध भए पनि सचिव पदमा भएको निर्वाचनबाट नवीन गौतम निर्वाचित हुनु भएको छ । गौतमले ६९६ मतमध्ये ५२२ मत ल्याएर भारी मतकासाथ विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी योगेन्द्रमिलन छन्त्यालले १७४ मत प्राप्त गर्नुभएको थियो ।

सहमति भएको भन्दै यहाँ रहेका तीन दलबाट स्थानिय वेबसाइटहरुमा छन्त्यालका विज्ञप्ति र समाचारहरु प्रतिबन्ध गरिएका थिए भने सहयोग गर्ने समर्थक र शुभचिन्तकहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए । छन्त्यालको भनाइ छ : 'वास्तवमा तानाशाहीतन्त्र लादेर दलहरुले ब्यक्तिगत स्वतन्त्रता र मान मर्यादाको हनन गरेका छन् । राजनीतिक बिल्लावालहरुको समूह बनाइएको संस्कारकोबिरुद्धमा मैले उम्मेदवारी दिएको थिएँ । मैले जितेर पनि हारेको छु ।'

दलनिकट नेताहरुको भनाइ छ : 'सहमतिको बाधक बनेको ठहर गर्दै हामीले साम, दाम, दण्ड र भेद सबै उपाय अपनाएका हौ ।'

अधिवेशनबाट सह सचिव हेमन्त सेढाइद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र सदस्य भानु सापकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित भएको छ ।

प्रतिवद्धता मन्तव्यमा नव निर्वाचित अध्यक्ष गुरुङले आफुले भाषण गर्न नजान्ने तर काम गरेर देखाउने बताउनुभएको छ । गुरुङको दाबी थियो : 'मेरो कार्यकालमा जसरी पनि नेपाली दुतावासको स्थापना गराइ छोड्नेछु ।'

निर्वाचन समितिका सँयोजक डक्टर महेन्द्र पन्थीबाट नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराइएको थियो ।