Tuesday, February 7, 2012

नेपाल र अन्य देशहरुमा के के फरक छन ?


हाम्रो चाहना - छैठौ श्रृंखला (रेडियो स्क्रिप्ट) 
................signature tune.......................
स्रोता, नमस्कार एवम हार्दिक अभिवादन ! जन्मपछि मृत्यु त अवश्य हुन्छ तर त्यो देहावसान जसले संसार रुवाएर जान्छ, त्यही सार्थक जन्म हो । भौतिक शरीर नभएपनि हामीसंग गिरिजाप्रसाद कोइरालाको स्वर्णिम विरासतसंगैको इतिहास छ र रहिरहनेछ । नयाँ नेपाल बनेको हेर्न चाहने उहाँको आत्मा सधै नेपालकै सेरोफेरोमा रहिरहोस् । यो शोकको घडिमा दिवंगत आत्माको चीर शान्तिको कामना ! गिरिजाप्रसाद कोइरालाको सपनाजस्तै हामी सबैको इच्छाशक्ति र एकता हुने हो भने नेपाललाई पनि संसारको विकसित राष्ट्र बनाउन धेरै समय लाग्ने छैन l संसारभरका नेपालीहरुको आफ्नै आवाज, अनलाइन रेडियो टाइटन र धौलागिरी आसपासका १७ जिल्लाहरुमा लोकप्रिय रेडियो, सयपत्री एफ.एम. ९१.६ मेगाहर्जको नेपाली कार्यक्रम "हाम्रो चाहना" मा यहाँलाई हार्दिक स्वागत गर्दछौ l कार्यक्रममा म योगेन्द्रमिलन छन्त्याल बोलिरहेको छु, जर्मनीको डुसेल्डोर्फबाट l अबको १ घन्टाको बसाइमा आज नेपाल र अन्य देशहरुमा के के भिन्नता पाइन्छ ? अरु देशजस्तै विकसित र सुविधासम्पन्न देश बनाउन हामीले के के गर्नुपर्ला ? यस्तै नेपालीहरुको चाहनाबारेमा छलफल गर्ने सोच बनाएका छौ l साथमा तपाईका सल्लाहसुझाव र प्रतिक्रिया पनि समावेश हुने नै छन् l हामीलाई विश्वास छ सधै जस्तै आज पनि हामीलाई साथ दिनु हुने नै छ l तपाईको कम्प्युटर वा रेडियो सेटदेखि टाढा नजानुस है त ..................
हामीले हाम्रा राजनेताहरूबाट बेलाबखत सुन्ने गर्छौ - 'हाम्रो देशलाई सिंगापुर बनाउछौ, स्विटजरल्यांड बनाउछौ l' तर भाषणमा मात्र रहेछ l हामीले विदेशको यात्रा नगर्दासम्म कल्पना गर्छौ सुन्दर होला, झिलिमिली होला यस्तै यस्तै l किताबहरुमा पढ़छौ थुप्रैको यात्रा अनुभवहरू l विकसित देशका वातावरण कल्पना र पढेकोभन्दा नितान्त फरक पाउंछौ हामीले l थुप्रै स्रोताले हामीलाई विदेशका ठाउंहरुकाबारेमा पनि जानकारी दिएमा कार्यक्रम रोचक हुने सुझाव दिनुभएको थियो l तर हाम्रो चाहनाको कार्यक्रम सञ्चालन अवधारणा अनुसार ठाउं विशेषको मात्र वर्णन गर्न हामी सक्दैन थियौ l मैले एकदिन कार्यक्रममा छलफल गरिरहेकै बेलामा क्यानाडामा रहनुभएका रत्ना दिदीले सुझाव दिनुभएको थियो - नेपाल र अरु देशमा के फरक छ भनेर कार्यक्रम बनाउंदा पनि राम्रो हुन्छ कि भनेर l हार्दिक धन्यवाद रत्ना दिदीलाई l उहाँकै सुझाव अनुसार आजको कार्यक्रमको विषय चयन गरेका छौ - नेपाल र अरु देशमा के के फरक छन ? स्वभाविक रुपमा हाम्रो देश सुन्दर छ l हामीलाई रहर छ सधै आफ्नो देशमा रहन पाउं, मनका जोडीसंग यहीका सुन्दर शहरहरु घुम्न पाउं l
पहिलो गीत (कान्छीलाई घुमाउने काठमांडु शहर .................)

देशबाट बाहिर आएपछि कति कुरा रोचक लाग्दा रहेछन l कति कुरा मन पर्छन, कति मन पर्दैनन l कति कुरा नेपालमा पनि यस्तो भए कति राम्रो हुन्थ्यो भन्ने खालका हुन्छन् l आज हामीले संसारभरका साथीहरुसंग यसै विषयमा छलफल गर्ने सोच बनाएका छौ l स्रोता, अहिले म बस्ने ठाउंबाट डुस्सेल्डोर्फ़को राइन नदीतिर जाँदैछु l रेलगाडीमा चढेको छु म अहिले l गाड़ीभित्र फटफटाइराख्दा यहाँका मान्छेहरुलाई अप्ठेरो लाग्ला भनेर म मान्छे नभएको कुनाको सीटमा बसेको छु l विदेशको संस्कृति, सभ्यता, भौतिक विकास, कानुनको पालना, चालचलन हाम्रो देशकाभन्दा फरक हुंदा रहेछन l यो गाड़ी ठीक समयमा आउंछ l तोकेको समयमा छुट्छ l मानिसहरुलाई हतार छैन, कति राम्रोसंग पालो कुर्छन ? महिला, बुढापाका र फरक क्षमताकालाई प्राथमिकता छ जहातही l यो गाड़ी बिजुलीले चल्छ, कहिल्यै बिजुली जाँदैन l हाम्रो देश जलस्रोतको धनी देश तर १६ घण्टा बिजुली आउंदैन रे अचेल ! धेरथोर थाहा थियो हामीलाई यी विषयमा l तर आज हामी, हामीले बयान गर्नेभन्दा पनि साथीहरुका अनुभव र भोगाइलाई प्रस्तुत गर्ने सोच बनाएका छौ l साथीहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ l आजको विषयवस्तुमा आफ्ना विचारहरू राख्न सक्नुहुन्छ l हामीसंग प्रत्यक्ष छलफलका लागि स्काइप, जीमेल र भोइप चीपमा y.m.chhantyal ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ l यसैगरी याहूमा ymcbgl ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ l अब हाम्रा लाइनहरु खुल्ला गरिएका छन l तपाइ पनि आफ्नो भावना वा चाहना प्रस्तुत गर्न चाहनुहुन्छ भने कृपया सम्पर्क गर्न सक्नुहुन्छ l विदेशमा आउदाका रमाइला कुराहरु, केही नरमाइला अनुभवहरु, नेपालले सिक्नुपर्ने कुराहरु, र तपाईका चाहनाहरु व्यक्त गर्न सक्नुहुन्छ हाम्रो कार्यक्रममा l स्रोता अहिले हाम्रो लाइनमा एकजना साथी सम्पर्कमा आउनुभएको छ, उहाँसंग छोटो कुरा गरौ न है त : ... (गोबीन्द न्यौपानेसंगको कुराकानी) ... अहिले हामी गोबीन्द न्यौपानेजीसंग कुरा गर्दै थियौ साउदी अरब र नेपालमा के के फरक छन भन्ने विषयमा l नेपालीहरु देशको राजनीतिक किचलोका कारण विदेश जानुपर्ने र थुप्रै समस्या झेल्नुपरिरहेको छ l राजनीतिज्ञहरू देशप्रति उत्तरदायी नभई व्यक्तिगत स्वार्थका लागि पक्षपात र कुकार्य गर्ने गर्दछन जसले गर्दा समस्या सृजना भएको छ l गोबीन्दजीको भनाइ हो यो l देशको राजनीतिक समस्याले मुटु दुखाएको रहेछ हजारौ गोवीन्दहरुको l कलाकार लाक्पा शेर्पा पनि यस्तै कुरा व्यक्त गर्नुहुन्छ सुन्नुहोस - झस्केर दुख्छ यो मुटु मेरो ............
दोश्रो गीत (झस्केर दुख्छ यो मुटु मेरो ..............................)

स्रोता, यहाँलाई फेरि स्वागत छ कार्यक्रम हाम्रो चाहनामा l तपाई अनलाइन रेडियो टाइटनको radiotitan.com लग अन गरेर यो कार्यक्रम सुन्दैहुनुहुन्छ l यसैगरी धौलागिरी आसपासका १७ जिल्लाहरूमा सयपत्री एफ एम ९१.६ मेगाहर्ज बागलुंगबाट यो कार्यक्रम सुनिरहनुभएको छ l साथमा छु म योगेन्द्रमिलन छन्त्याल l यहाँले archive.org र फेसबुकमा हाम्रो चाहना सर्च गरेर पनि यस कार्यक्रमका सबै अंकहरु सुन्न सक्नुहुनेछ l साथै nepalaustralianews.com मा पनि यहाँले हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ l एकजना साथीको कारमा छु म ! हातमा ल्यापटप छ l आवाज सुन्नुभएको छ गाडीको .. केही समयमै हामी राइन नदीमा पुगेर त्यहीबाट साथीहरुसंग छलफल गर्ने सोच बनाएका थियौ l कारणवश हामी थोरै ढिला भएका छौ l त्यसैले कारबाट पनि यहाँसंग छलफल गर्न गइरहेका छौ l म चढेको कार अहिले सुरुन्गको बाटो हुँदै घुइकिएको छ l मेरो देशले नदीमा पुल पाएको छैन, यहाँ भने हेर्नुस न चौबाटोमा पनि ४ - ५ तल्ले पुलहरु छन l शहरको तल तल जमिनमुनी बाटो अनि रेलका लिकहरु छन l मेरो देशमा यस्तो विकास कहिले होला ? स्रोता यसैबीच हामीकहाँ एकजना मित्र लाइनमा आइसक्नुभएको छ उहाँलाई स्वागत गर्छौ हामी ... (रत्न थापासंगको कुराकानी) .... याद त आउंछ नि प्रवासीलाई आफ्नो देशको l सैलुंगेमा कुन्ती मोक्तानसंगैसंगै चौरीसंग डुल्छ मन लाग्छ, हत्केलामा लालीगुराँस फुल्छ, शिरमा सगरमाथा र धौलागिरीको ताज पहिरिन्छौ हामी l
तेस्रो गीत (माथि माथि सैलुंगेमा ..........................)
तपाई भर्खर मात्र radiotitan.com लग अन गर्नुभएको छ वा सयपत्री एफ.एम. ट्युन गर्नुभएको छ भने हामी साथमा छौ कार्यक्रम हाम्रो चाहनामा l यस कार्यक्रममा तपाईको चाहना, हाम्रो चाहना, प्रवासीको चाहना वा नेपालभित्र बसिरहनुभएकाहरुको चाहना, समग्रमा हामी सम्पूर्ण नेपालीहरुको चाहना समेटिन्छ l तपाईका चाहना पनि भनुं भनुं लागेका छन् भने कृपया, हामीलाई जानकारी गराउनुहोला l हामी यहाँको चाहना सकेसम्म छिटो कार्यक्रममा समेट्ने छौ l तपाईको साथमा छु म योगेन्द्रमिलन छन्त्याल, म अहिले जर्मनीको डुसेल्डोर्फबाट बोलिरहेछु l
म आज बिहान एउटा पसलमा केही तरकारी किन्न गएको थिएँ l त्यहाँ ग्रीन पार्टीका एउटा नेता गुणस्तरको सामान छ कि छैन भनेर छडके गर्न आएका रहेछन l हाम्रा नेताहरूले पनि यस्तो गर्नुहुने भए कति राम्रो हुन्थ्यो l भलै यस्तो नगरे पनि काला बजारियाहरुलाई जोगाउने काम नगरे हुन्थ्यो l फरक रहेछ नेपाल र जर्मनीमा पनि l फेरि एकजना साथी हाम्रो सम्पर्कमा आउनुभएको छ l कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्छौ हामी .... (शिव नेपालसंगको कुराकानी) ......... अहिले हामी कुराकानी गर्दै थियौ शिव नेपालसंग l उहाँ हामीसंग अहिले क्यालिफोर्निया, अमेरिकाबाट कुराकानी गर्दैहुनुहुन्थ्यो l 'नेपालको विकासका लागि प्रशस्त संभावना छ तर हामी सबै जिम्मेवार हुन जरुरी छ' उहाँ भन्दै हुनुहुन्थ्यो l अन्तत देशमा रोजगारको समस्या परिवारलाई पैसाको चाहना, यही कारण पनि नेपाली युवाहरु बिदेशिनुपर्छ l कलाकार रोशन गुरुंगलाई सोधौ न वास्तविकता के हो ?
चौथो गीत (सबै कुराभन्दा नि पैसे ठूलो छ ............)

तपाईलाई एउटा अनुरोध, अब पैसालाई ठूलो सोच्नु हुँदैन - देश ठूलो हो l माटो ठूलो हो, बाटो ठूलो हो l म अहिले राइन नदीको नजिकै आएको छु, हेर्नुस न हाम्रा दिदीबहिनी र दाजुभाइहरुले कति माया गर्नुभएको छ हाम्रो चाहना कार्यक्रमलाई l रातको १२ बजे ड्यूटीबाट आउंनुहुन्छ, दिनभर रोबोटजस्तो काम गर्नुपर्ने, विदेशी काम l कति थाक्नुभएको होला कल्पना गर्नुस त l तर कम्प्युटर खोलेर हाम्रो चाहना बजाउंनुहुन्छ अनि नचिनेको हो तर हाम्रो चाहना कार्यक्रमले नाता जोडेको छन्त्याललाई चाट गर्नुहुन्छ l 'साह्रै राम्रो छ कार्यक्रम, तर दोस्रो गीत पछिका वाक्यहरू अलिक सच्च्याएको भए मेरो विचारमा है.... कति राम्रो l तर राम्रो छ मलाई लागेको कुरा भनेको नि त ल' यस्ता साथीहरुको मायाममता सल्लाह र सुझावले हामीलाई थप प्रेरणा मिलिरहेको छ कार्यक्रमलाई निरन्तरता दिनका लागि l म अहिले राइनको किनारमा आइपुगेको छु l यहाँ दैनिक हजारौ पर्यटकहरु घुम्न आउंछन l युवा युवतीहरु जोड़ा बनेर रमाउंछन l हाम्रो समाजमा नपच्ने किसिमले अंगालो मार्छन, म्वाई खान्छन l यिनीहरुलाई यो सामान्य हो l तपाई अहिले यहाँ नजिकै रहेको चर्चको बेल सुन्नुभएको छ l सिढीहरुमा सयौ जोडाहरू बियरको चुस्की लिदै मस्कीरहेका छन l ठट्टा गरिरहेका छन, एक-आपसमा रमाइरहेका छन l अब फेरि अर्को साथीसंग कुराकानी गर्दछौ हामी l हामीसंग अब दक्षिण कोरियाबाट जगेन्द्र छन्त्याल सम्पर्कमा हुनुहुन्छ l उहाँसंग पनि छोटो कुराकानी गर्छौ हामी l जगेन्द्रजीलाई स्वागत छ कार्यक्रममा ..... (जगेन्द्र छन्त्यालसंग कुराकानी) .... 'सबैमा नेपाली हु भन्ने भावनाको जरुरत छ l राष्ट्रिय एकताको जरुरत छ ल' जगेन्द्रजी पनि यही भन्दै हुनुहुन्थ्यो l जब राष्ट्रिय भावनाको विकास हुन्छ तब किसान, ज्यामी, भरिया र गरिब दाजुदिदी र बहिनीभाइहरु पनि दबिएको महशुस हुने छैन l त्यही हुनेछ - नयाँ नेपाल ! तर यहाँ अहिलेको अवस्थाप्रति विष्णु खत्री र बिमाकुमारी दुराको गुनासो छ .......
पाँचौ गीत (भरिया दिले बिसाउने भारी ............)

देश र प्रवासमा रहेका सबै नेपालीहरुको भावी सपना समेटिने सचेतनामूलक र सांगीतिक कार्यक्रम हो - हाम्रो चाहना l यो कार्यक्रम जर्मनीबाट संचालन हुन्छ तपाईको साथमा रहने गर्छु - म योगेन्द्रमिलन छन्त्याल l कार्यक्रम अहिले अनलाइन रेडियो टाइटन र सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज बागलुंगबाट प्रशारण भैरहेको छ l कार्यक्रममा सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक समस्याका कारण उत्पन्न बेरोजगार, अभाव, अन्याय, अत्याचार, अस्थिरता र असमानताको चर्चा गरिन्छ l प्राकृतिक स्रोत र परिवर्तनका लागि उठाइएका आवाजहरुलाई पनि कार्यक्रममा समेटिन्छ l निचोडमा पछाडि पारिएका वर्गका चाहना बोल्ने गरिन्छ l जो कसैको उपयुक्त लेख-रचना, विचार र सन्देश समेटिन्छ कार्यक्रममा l भेटवार्ता, फोनवार्ता र छलफल पनि चलाइन्छ ल
आज हामी नेपाल र अन्य देशहरुमा के के फरक छन भन्ने विषयमा छलफल गरेका छौ l फरकको बारेमा किन कुरा गरिन्छ थाहा छ तपाईलाई ? मैले एकचोटी एकजना दाइलाई फकाइ फुलाइ उहाँको मनको कुरा बुझेको थिएँ l उहाँले अर्को एउटी दिदीलाई सोध्नुभयो - 'कति छन बालबच्चा ?' भनेर l दिदीले भन्नुभयो - '३ वटा' l दाइ त रुन पो थाल्नुभयो l मैले सोधे 'किन रुनुहुन्दैछ ?' भनेर l उहाँले बताउनुभएन l मैले निक्कै फकाइ फुलाइ गरेपछि बल्ल थाहा पाएं, उहाँले सोध्नुको कारण रहेछ - उहाँहरु दौतरी र छ्वाली हुनु हुंदोंरहेछ l दुःखको कुरा दाइको इच्छा छंदा छँदै पनि बच्चाबच्ची छैन रहेछन l अनि उहाँले सोध्नु र तुलना गरेर रुनुको कारण रहेछ - उहाँ पनि दिदीजस्तै ३ बच्चाको बाबा बन्ने रहर l उहाँबाट सिकेको कुरा हो यो छलफल l हाम्रो देश र अरु देशहरुको भिन्नताबारे छलफल गर्नु भनेको हाम्रो देश पनि अरु विकसित देश जस्तै बन्नुपर्छ भनेर चाहना प्रकट गर्नु हो l अझ हामी कसरी, कसले, के गर्नुपर्छ भन्ने प्रश्नको पनि समाधान खोजने प्रयास गर्दैछौ l यसैबीच एकजना साथीको कल लिनुपर्छ मैले ....(गायत्री लम्सालसंगको कुराकानी).... भर्खर हामी कुरा गर्दै थियौ - चितवन घर भई हाल इजरायलमा रहनुभएका गायत्री लम्सालजीसंग l उहाँले 'नेपाल स्रोतले सम्पन्न भएको र राजनीतिक वातावरण सुध्रिएमा छिट्टै इजरायल लगायतका देशहरुभन्दा विकास हुनसक्ने' आशा व्यक्त गर्नुभयो l गायत्रीजीले इजरायलमा रहनुभएका जेठानी दिदी गीता खनाल, काठमाण्डौ ठमेलमा बस्नुहुने श्रीमान रमेंश भट्टराई र २ छोरीहरू ऐश्वर्य र एलिशा भट्टराईलाई यो गीत समर्पण गर्न चाहनुभएको छ l प्रवासीहरू सबैलाई छोरो ठूलो भयो होला भन्ने कल्पना हुन्छ नि हैन र कलाकार चुजन ठुक्पालाई जस्तै ?
छैठौ गीत (असारै महिनामा पानी .............................)

स्रोता, अब तपाईबाट प्राप्त सल्लाहसुझाव र प्रतिक्रियाको पालो l कार्यक्रम "हाम्रो चाहना"लाई माया गरेर थुप्रै स्रोता र शुभचिन्तकहरुबाट प्रतिक्रियाहरु प्राप्त भएका छन l

खनाल बाबु : छन्त्यालजी मलाई साह्रै ख़ुशी लाग्यो l तपाई प्रवासमा रहेर पनि आफ्नो कलाकारिता मात्रिभूमिका लागि प्रयोग गर्नुभएको रहेछ l साहित्यिक रुपमा पनि राम्रो प्रयास गरेको पाएं, निरन्तरताको शुभकामना !

सुशीला लामा : महत्वपूर्ण काम गरिरहनुभएको छ निरन्तरता दिनुहोला l 

दुर्जय चेतना : साह्रै राम्रो छ कार्यक्रम l सुन्दै आइरहेको छु, तपाईहरुलाई शुभकामना है l

तीर्थ छन्त्याल : हाम्रो चाहनाको पाँचौ श्रृंखला सुने, अति नै मन परयो l यस्तै यस्तै रोचक कार्यक्रम उत्पादन गर्नुहोला l प्रगतिको कामना !

कृष्ण जोशी, नेपाल : मैले स्काई मोबाइलको इन्टरनेट प्रयोग गर्छु, महँगो छ l तर तपाईको कार्यक्रम सुन्न अत्यन्त इच्छा भएको कारण पैसालाई समस्या मान्दिन l तपाईको रेडियो कार्यक्रम धेरै ठूलो अभियान हो l

जीव आचार्य public health expert, kantipur dental hospital and research centre basundhara, KTM : हाम्रो समाजका लागि विश्वको एउटा कुनाबाट ठूलो योगदान दिनुभएको छ l यसका लागि धेरै धेरै धन्यवाद ! भविष्यमा पनि कार्यक्रमलाई निरन्तरता दिनुहोला l

रवी भित्रकोटी, save the children, country office nepal : मलाई लैगिक दृष्टिकोणसम्बन्धी पाँचौ अंक मन परयो l सदावहार नेपाली गीतहरूले कार्यक्रम थप रोचक बनेको छ l राष्ट्रिय मागका मामिलाहरुलाई कार्यक्रमको विषयवस्तुमा समावेश गर्नुहोला l जसले कार्यक्रमलाई थप रोचक र जीवन्त बनाउनेछ l

राम खरेल, संस्थापक/कार्यकारी निर्देशक सगरमाथा टि.भि. अमेरिका : तपाईको प्रशंसनीय कार्यक्रम म धेरै मन पराउंछु l यो कामलाई निरन्तरता दिनुहोला l

गोबीन्द भट्टराई : रेडियो अभियान समाज परिवर्तनका लागि महत्वपूर्ण प्रयास हो l म साँच्चीकै यो प्रयासको प्रशंसा गर्दछु र बधाई छ l

सरोजजी Kathmandu.org, नरेश छन्त्याल-म्याग्दी, सोमन छन्त्याल, अभय ढुंगेल, रत्न चन्द, श्रीमणिराज खनाल र गीता उत्प्रेती: हाम्रो चाहना कार्यक्रम साह्रै राम्रो छ l

माधव बस्ताकोटी : महत्वपूर्ण कार्यका लागि बधाई छ l कार्यक्रमको सफलताका लागि हार्दिक शुभकामना !

हिम छन्त्याल, मलेशिया : जन्म दिने आमाको न्यानो काखदेखि टाढा बस्नुपरेको समयमा हाम्रो चाहना कार्यक्रम सुन्न पाउंदा धेरै ख़ुशी लाग्यो l यहाँलाई धेरै धेरै धन्यवाद l कार्यक्रमको सफलताका लागि प्रवासीहरुको तर्फबाट हार्दिक शुभकामना !

रत्ना श्रेष्ठ : हाम्रो चाहना कार्यक्रम सुनिराहेको छु l धेरै राम्रो लाग्यो l यो देशका लागि ठूलो योगदान हो l तपाईको मिहेनत र सोचाइलाई मेरो सलाम छ l

सुजाना लामा : तपाईको छोरा र छोरीबीच हुने भेदभावसम्बन्धी पाँचौ कार्यक्रम झन राम्रो लाग्यो l यसरी नै अगाडि बढ्दै जानुहोला l हामी सबैको शुभकामना छ तपाइलाई l

कृष्ण फगामी : मैले सबै अंकहरु सुन्दै आइरहेको छु l शुभकामना !

गायत्री लम्साल, इजरायल : हाम्रो चाहनाको पाँचौ अंक मन परयो मलाई l

देउकुमारी छन्त्याल, म्याग्दी हाल आयरल्याण्ड : हरेक कार्यक्रम नेपालीहरुका लागि महत्वपूर्ण सन्देश दिइरहेका छन l हाम्रो समाजमा भएगरेका वास्तविक तथ्यहरू समेटिएकाले अझ ह्रदय छोइरहेका छन l हरेक नागरिकबाट यस्ता आवाजहरु निस्किनुपर्दछ अनि मात्र समस्याको समाधान हुनेछ l

दीपक थापा : म तपाईको प्रयासबाट धेरै ख़ुशी भएँ l निरन्तरता दिनुहोला, सफलताको शुभकामना l

उत्सुक थापा : हाम्रो चाहनाको पाँचौ अंक सुने l ख़ुशी लाग्यो l तपाईलाई धेरै धेरै धन्यवाद साथै उत्तोरोत्तर प्रगतिको शुभकामना !

हिराबहादुर छन्त्याल, मलेशिया : सह्रानीय कार्यका लागि म लगायत म जस्ता धेरै स्रोताको पूर्ण सहमति र सहयोग रहनेछ l विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई उजागर गर्ने जमर्को गर्नुभएकोमा तपाईको कार्यको सफलताको शुभकामना !

परी थापा, संविधानसभा विधायक : तपाईको सह्रानीय कार्यका लागि धन्यवाद l म पनि योगदानका लागि प्रयास गर्नेछु l
सबै साथीहरुलाई धन्यवाद सल्लाह सुझावका लागि l यहाँका बाँकी सल्लाह सुझाव सातौ अंकमा समावेश गर्नेनै छौ l

स्रोता, हामीलाई यहाँहरु फेसबुक मार्फ़त पनि सल्लाह्सुझाव र प्रतिक्रिया दिनासक्नुहुन्छ l यसका लागि आफ्ना विचार प्रस्तुत गर्नका लागि रेडियो कार्यक्रम हाम्रो चाहना समूहमा प्रवेश गर्नसक्नुहुन्छ l अब म आजको विषयवस्तुहरु माथि स्रोताहरुका प्रतिक्रिया लिंदैछु l किशोर रिजाल लेख्नुहुन्छ : नेपाल र अन्य देशमा खाली भौगोलिक बनावट र विकासको गतिमा फरक छ l जय तिम्ला लेख्नुहुन्छ : हामीले साच्चै नेपाललाई सफल बनाउने हो भने हामी सबै एकजुट र सहयोगी भएर स्रोत साधनको उचित परिचालन, घूसखोरी र भ्रष्टाचारलाई नियन्त्रण र नेपाली मानवीय स्रोतको परिचालन गरिनुपर्दछ l जमुना खरेल, अष्ट्रेलियाबाट लेख्नुहुन्छ : देशमा कामचोर, घूसखोरहरुको मात्र हालिमुहाली भएकोले सर्वसाधरणले राख्ने चाहना नेताहरूले राख्नुपर्ने वातावरण निर्माण गर्न सचेत दवावको जरुरी छ l नरकुमार छन्त्यालले अफगानिस्तानबाट लेख्नुहुन्छ : नेपालमा पेशाको सम्मान छैन, विदेशमा जुनसुकै काम होस सम्मान छ l यो कुरामा नेपाल र अन्य देशहरुमा फरक पाएको छु l उदितकुमार थापा मगरले बागलुंगबाट व्यंगात्मक शैलीमा लेख्नुहुन्छ : नेपाल धनी देश हो तर दुर्भाग्य नागरिक गरिब बनाइएका छन l अरु देशहरू सकेसम्म सस्तो मूल्यमा हाम्रा दिदीदाजु र बहिनीभाइहरुलाई खरिद गर्दछन l नेपाल लोकले नचुनेका नेताले शासन गर्ने लोकतान्त्रिक देश हो l अरु देशमा लोकले चुनेका नेताले शासन गर्दछन l रत्न थापाले लन्डन यूकेबाट "फेसबुकमा पनि विचार र प्रतिक्रिया संकलन गर्ने कार्य अत्यन्त राम्रो माध्यम भएको" बताउनुभएको छ l
आजलाई स्रोता प्रतिक्रिया यत्ति नै l

आजको छलफलबाट हामीले विकसित देशहरुमा ५ रुपैयाँ पनि सरकारको राजस्वमा जम्मा गरिन्छ प्रहरीहरुबाट l बेरोजगारहरुलाई भत्ता दिइन्छ l नागरिकहरुको निशुल्क उपचार हुन्छ l नानीहरू अनिवार्य स्कुल पठाउनुपर्छ र निशुल्क हुन्छ स्कुल l ४ कक्षा देखि नै बालकको इच्छा अनुसारको प्राविधिक र व्यवहारिक विषयमा शिक्षा दिइन्छ l हरेक कुरामा अनुशासन छ र दूरदर्शी कानून छ l कानुनको नजरमा सबै समान हुन्छन, कसैलाई काखा र कसैलाई पाखा हुँदैहुँदैन l कानुनमा जे छ त्यों व्यवहारमा लागु हुन्छ l सोर्स्फोर्स र नातावाद चल्दैन l कसैले भ्रष्टाचार गर्दैन l सरकार र राज्य हाम्रो हो भन्ने भावना छ, काममा कहिल्यै छलछाम हुँदैन l प्राकृतिक वरदान र स्रोतहरूले भरिपूर्ण हाम्रो देशमा यी विकसित देशका सकारात्मक कुराहरुको सिको गर्नुपर्दछ l हामी एक आपसमा मिलेर देशमा रहेका सोर्स्फोर्स, भ्रष्टाचार, नातावाद र पार्टीहरुको मतभेद हटाउनुपर्दछ l राजनीतिक व्यवहारमा परिवर्तन आउनुपर्दछ l हाम्रो देशलाई पनि इजरायल, साउदी, कोरिया, अमेरिका र यु के जस्तो बनाउन सकिन्छ भन्ने कुराकानी गरयौ l

तपाईसंग छुट्न मन त थिएन तर के गर्नु ? थाहै नपाइ १ घण्टा सकिएछ l अनि त बिदा माग्नै पर्छ मैले l कार्यक्रमलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद l यसपछि रेडियो टाइटन र सयपत्री एफ.एम. का नियमित कार्यक्रममा पनि साथ दिनुहोला l के हाम्रो चाहनामा तपाईको चाहना पनि समावेश भएको छ त ? छैन भने के गर्नुपर्ला ? सल्लाहसुझाव वा प्रतिक्रिया पठाउनका लागि हाम्रो इमेल ठेगाना रहेको छ : hamrochahana@gmail.com l साथै यहाँले कार्यक्रम हाम्रो चाहना, सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज पोष्ट बक्स नं. - २९, बागलुंग नगरपालिका - २ बागलुंगको ठेगानामा पत्र पठाउनु भयो भने पनि हाम्रो हात पर्नेछ l हाम्रो देशमा शान्ति र विकासका लागि जहाँबाट जे गर्न सकिन्छ, कृपया सधै पहल गरिरहनुहोला l यहाँ समक्ष पृष्ठभूमिमा बजेको गीत छोड्दै अब म प्रस्तुतिबाट बिदा हुन्छु l अर्को हप्ता नयाँ अंक र नयाँ चाहनाका साथ तपाई हाम्रो भेट हुने नै छ l आजको "हाम्रो चाहना" को प्रस्तुतिबाट म योगेन्द्रलाई आज्ञा दिनुहोस, नमस्कार !

कार्यक्रम सुन्न र थप जानकारीका लागि : http://www.facebook.com/home.php?#!/note.php?note_id=289148249059&id=1425652349&ref=mf फेसबुक नोट हेर्नुहोला l