योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, १७ बैशाख । सञ्चारकर्मीहरुले पोर्तुगलमा रहेका राजनीतिक दलनिकट संगठन र संघसंस्थाहरुलाई सहमति गरी गैह्र आवासीय नेपाली संघ (एनआरएन) लाई सबैको साझा मञ्च र ढुकढुकी बनाउन सुझाएका छन् । देशमा व्याप्त भ्रष्टाचार, नातावाद, बेरोजगारीको समस्या र अस्थिरताका कारण ३९ लाख नेपालीहरु विदेशीनु परेको मूल जड राजनीति भएकोले एन आरएनमा राजनीति नगर्न उनीहरुले जोड दिएका हुन् ।
आगामी मे २२ मा हुन गैरहेको संघको तेश्रो अधिवेशनबारे सञ्चारकर्मीका अपेक्षा र जिज्ञासामा संगठन र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सकेसम्म छिटो एक समन्वय समिति बनाएर सहमतिका लागि प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले योभन्दा पहिले चुनाव भएकै कारण अपेक्षा गरिएजस्तो सहयोग नपाइएको वास्तविकताबारे जानाकारी दिनुभयो । अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष मकर हमालले कुनै पनि हालतमा मिल्नुको विकल्प नरहेको कुरामा जोड दिनुभयो ।
सहभागीहरुले एनआरएनमा राजनीति गरिएको आरोपलाई जनसम्पर्क मञ्चका अध्यक्ष पूर्ण हमालले सहज रुपमा स्वीकार्दै भन्नुभयो : 'मानिस चेतनशील प्राणी हो । राजनीतिक आस्था हुन्छ र आफ्ना निकटको उपस्थिति धेरै भए हुन्छ भन्ने सबैलाई हुन्छ ।' जनप्रगतिशील मञ्चका उपाध्यक्ष राममणी रिजालले आफूहरुले पुछ्रे राजनीति गरेको आरोप सही नभएको गुनासो गर्नुभयो । सहभागीको प्रचण्डले भने माओवादीका समर्थकलाई जे पनि ठिक हुने, झलनाथले भने एमालेकालाई र सुशील कोइरालाले बोले काँग्रेस समर्थकहरुलाई जे पनि ठिक हुने कुसंस्कृतिले राजनीति बिग्रिएको भनाईमा बचाऊ गर्दै रिजालले एनआरएनको तेश्रो अधिवेशनमा मञ्चकोतर्फबाट प्यानल नबनाउने प्रतिवद्धता गर्नुभयो ।
नेपाली लोकतान्त्रिक मञ्चका अध्यक्ष बालाराम बिकले सबै मिलेर जानुपर्ने कुरामा जोड दिदै फुर्सदिलो, सक्षम, स्वच्छ छवि भएका, स्थायी रुपमा पोर्तुगलमै रहने र आर्थिक रुपमा सबल व्यक्तिहरुले एनआरएनको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । हावा नचली पात हल्लदैन, चुनावमा अध्यक्षको उम्मेदवारी दिनुहुँदैछ हो ? यो प्रश्नको उत्तरमा समितिनिकट भीम कमल केसीले भन्नुभयो : 'माहौल नै चुनावमय छ । यो अवस्थामा मेरो नामको हल्ला चल्नु कुनै नौलो कुरो होइन । सहमतिबाट बनाइएमा म अध्यक्ष हुन तयार छु । चुनावी प्रक्रियाबाट म प्रतिष्पर्धा गर्दिनँ ।'
नेपाल जनजाति महासंघका कार्यवाहक अध्यक्ष गणेश लिम्बुले सबै मिलेर जाऔ, महासँघ कसैको बाधक बन्दैन भन्दै लचिलो धारणा राख्नुभयो । नेपाल पोर्तुगल कला, संस्कृति तथा साहित्य सञ्चार परिषदका अध्यक्ष कुमार श्रेष्ठले पदलाई भन्दा नेपालीहरुको हक हितलाई जोड दिएर मात्र सहमति हुनसक्ने कुरा बताउनुभयो । क्षेत्री समाजका अध्यक्ष राकेश खड्का प्रश्न गर्दै हुनुहुन्थ्यो - 'झन कार्यक्रमको आयोजना गरेर पत्रकारहरु नै एनआरएनको भागबण्डा त गर्दै छैनन् ?'
अन्तर्क्रियामा सुवास पोखरेल, राम गौचनलगायत सहभागीहरुले आ-आफ्ना धारणा र प्रश्नहरु राख्नुभएको थियो । सञ्चारकर्मीहरुले आयोजना गरेको अबको एनआरएन विषयक अन्तर्क्रिया गोरखा प्यालेस लिस्बोनमा सम्पन्न भएको हो । कार्यक्रमको पृष्ठभूमिबारे बाबुराम भुसालले जानकारी गराउनुभएको थियो भने स्वागत विनोद घिमिरे र सञ्चालन योगेन्द्रमिलन छन्त्यालले गर्नुभएको थियो ।