- योगेन्द्रमिलन छन्त्याल
मे २२ मा गैह्र आवासीय नेपाली संघ (एनआरएन) पोर्तुगलको तेश्रो अधिवेशन हुँदैछ । राजनीतिक दलनिकट संगठन र संघसंस्थाहरुले सहमति गरी एनआरएनलाई सबैको साझा मञ्च र ढुकढुकी बनाउनुपर्छ । देशमा व्याप्त भ्रष्टाचार, नातावाद, बेरोजगारीको समस्या र अस्थिरताका कारण ३९ लाख नेपालीहरु विदेशीनु परेको मूल जड राजनीति भएकोले एनआरएनमा राजनीति गरिनु हुँदैन ।
सकेसम्म छिटो सहमतिका लागि प्रयास गर्छौ भन्ने प्रतिवद्धता व्यक्त गर्नेहरुमध्ये जनसम्पर्क समिति र लोकतान्त्रिक मञ्चले आ आफ्नातर्फबाट समन्वयका लागि टोलीको नाम सार्वजनिक गरेका छन् । माओवादीनिकट जनप्रगतिशील मञ्च भने पछि परेको छ यो मामलामा ।
मानिस चेतनशील प्राणी हो । राजनीतिक आस्था हुन्छ र आफ्ना निकटको उपस्थिति धेरै भए हुन्छ भन्ने सबैलाई हुन्छ । तर पुच्छ्रे राजनीतिका कारण देशको संस्कारसरह लिडेढिपि गर्ने र 'मेरो गोरुको बाह्रै टाँका' को व्यवहारले सहमति हुँदैन भन्ने थाहा पाउन जरुरी छ । सहमतिमा सबै पक्षको जित हुनुपर्दछ । कम शक्ति भएकाहरुको पनि सम्मान गर्न सक्नुपर्छ । ठूलो आयतन भएकाहरुलाई पनि चित्तै नबुझ्नेगरी कमजोर पार्ने प्रयास गरिनु हुन्न ।
'अरुको हेरौ र हामी गरौला' भनेर आफूलाई चोखो देखाउन खोज्नुभन्दा सक्दो छिटो र मिल्ने प्रयास गर्नु वुद्धिमानी ठहरिनेछ । बोल्दा, काम गर्दा, नेपालीसँग व्यवहार गर्दा सहनशील, निष्पक्ष र नम्र हुनुपर्छ एनआरएनका नेताहरु । सबै मिलेर जानुपर्छ । फुर्सदिलो, सक्षम, स्वच्छ छवि भएका, स्थायी रुपमा पोर्तुगलमै रहने र आर्थिक रुपमा सबल व्यक्तिहरुले एनआरएनको नेतृत्व गरिनुपर्छ । म यो पदको लागि दावेदार बन्छु भन्ने कोही निक्लेको छैन । भीम कमल केसीले भने सहमतिबाट बनाइएमा अध्यक्ष हुने तर चुनावी प्रक्रियामा प्रतिष्पर्धा नगर्ने कुरा राखेर एक मात्र खुल्ला व्यक्ति बन्नुभएको छ अहिलेसम्मलाई ।
मेरो अनुभवमा समयसीमाभित्र सहमति हुनलाई हतारिनु पर्दछ । पोर्तुगलमा पनि यो कुरा सान्दर्भिक हुनसक्छ । जस्तै : सबैको समन्वय समिति सार्वजनिक भए छलफल अगाडि बढ्नसक्छ । अझ हतारो... प्यानल नै सार्वजनिक हुने हो भने काटछाँट वा जोडघटाउ गरी मिलाएको टीम चयन गर्न सजिलो हुन सक्छ । थुप्रैले उम्मेदवारी घोषणा गरेमा उम्मेदवारहरुबीच छलफल बढाउन सकिन्छ ।
जनसम्पर्क समितिका पूर्ण हमाल, रमेश गुरुङ र बिनोद घिमिरे, लोकतान्त्रिक मञ्चका बालाराम विक, उमेश चौलागाई, सुभाष अधिकारी, सुवास पोखरेल, गोविन्द पौडेल र दीपक थापा अनि जनप्रगतिशील मञ्चबाट घोषणा हुने समन्वयका जिम्मेवारहरुले के कस्तो भूमिका निर्वाह गर्छन् हेर्न केही दिनहरु बाँकी छन् ।
नामको भोको र आफ्नो स्वार्थका लागि मात्र एनआरएन ताक्ने सोचकाविरुद्ध सबै सजग हुनुपर्दछ । स्वयंसेवी संस्था भएकोले यसको कार्यकालभरि संस्थाका लागि योगदान दिन प्रतिवद्ध अनुभवि र नव आगन्तुकहरुको समिश्रणमा सशक्त, जुझारु, कर्मठ र योग्य समूहको निर्माण गरिनु पर्दछ । यस अघिको कार्यकालमा उपाध्यक्ष ओम शर्मा, सचिव खेमराज रानाभाट, कोषाध्यक्ष राजेन्द्रकुमार गुरुङ, सदस्यहरु अशोक गुरुङ, बलबहादुर पून र ध्रुवप्रसाद गौचन गरी समितिका १७ मध्ये ६ जना निर्वाचित पदाधिकारीहरुले पोर्तुगल छोडेपछि उसै त अरुको सहयोग नपाएको प्यानल आफ्नै लिष्टकाबाटसमेत थप अङ्गभङ्ग बनेको कुरा सबैले स्वीकारेको पाइन्छ ।
यहाँ रहेका नेपालीहरुमा आकर्षण, चासो र उत्सुकता देखिएको पाइदैन एनआरएनप्रति । सदस्यता वितरण तथा नवीकरणका लागि अब १ हप्ता मात्र समय छँदा केवल १९ जनाले सदस्यता लिएको पाइन्छ । जहाँ नेपालीको जमघट हुन्छ, एनआरएनको अधिवेशनको कुरा त हुन्छ तर ह्या ....जोसुकै जेसुकै गरुन् भन्ने शब्द दोहोरिन्छ जहाँतही । दलनिकट नेता महाशयहरु भने बहुत इमान्दार, पहलक्रमी र निकासकर्ताको रुपमा चिनाउन कोठे बैठक गरे पनि वास्तविकता सार्वजनिक गर्दैनन् र ठूलो ठूलो स्वरमा गर्जन्छन् : हामीले कुनै पनि कुराकानी गरेका छैनौ ।
अब समय मनमुताब र भाँडभैलोको हैन, मिलन र सिर्जनाको हो । हामी यो यो पद पाए मात्र मिल्ने नत्र चुनावै लड्ने भन्नेहरुलाई प्रश्न गर्नुपर्छ : चुनाव गरेर उसैले जित्ने के आधार छ ? जित्नेले के गर्न सक्छ ? अब हार्नेहरु लोकतान्त्रिक अभ्यास हो भनेर हरुवा नाक मुसार्दै सहयोग गर्छन् होला ? अघिल्लो कार्यकालमा सिर्जनशील, मिहेनती र इमान्दार एनआरएनकर्मीहरुको हार भएपछि कहिल्यै भुलेर पनि एनआरएनको संघारमा पाइला टेक्नुभएन रे ! अब पुराना कुराहरुको अनुभूति मनमा पसाएर गम्भिर रुपमा सोच्नु जरुरी छ ।
संकुचित सोचले आफैलाई संकुचनको घेरामा पार्छ । त्यसैले अलिक लचिलो, अलिक उद्दार, अलिक सामाजिक स्वार्थका लागि त्यागी र साँच्चीकै बोली र व्यवहारमा एकरुपता ल्याएर सहमतिको कुरा अगाडि सार्न जरुरी भैसकेको छ । हामी मिल्यौ भने संसारकै नमूना बन्ने अवसर छ । हामीबीच बेमेल भयो भने छि: छि: र दूर-दूर हुन बेर लाग्दैन । समस्याबाट जोगिन पहल गर्ने कि, जे परे पर्छ भन्ने ?