Tuesday, February 7, 2012

नयाँ वर्ष २०६७ को शुभकामना (रेडियो स्क्रिप्ट)


हाम्रो चाहना - आठौ श्रृंखला
................signature tune.......................
''देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न तथा नागरिक अधिकारको सम्मान हुने राज्य व्यवस्था स्थापनाका लागि राजनीतिक दलहरुलाई प्रेरणा मिलोस l हाम्रो चाहना अनुसार सुख, शान्ति र सन्तुष्टिमा जीउने वातावरण बनोस l'' नववर्ष २०६७ को सुखद अवसरमा हामी हाम्रा सम्पूर्ण स्रोतामित्र, सहयोगी, आफन्त र शुभेच्छुक महानुभावहरुमा सु-स्वास्थ्य, दीर्घायु तथा उतोरोतर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ l ''

नमस्कार एवम हार्दिक अभिवादन ! संसारभरका नेपालीहरुको आफ्नै आवाज, अनलाइन रेडियो टाइटन र धौलागिरी आसपासका १७ जिल्लाहरुमा लोकप्रिय रेडियो, सयपत्री एफ.एम. ९१.६ मेगाहर्जको नेपाली कार्यक्रम "हाम्रो चाहना" का साथ आज पनि यहाँ समक्ष आइपुगेको छु म योगेन्द्रमिलन छन्त्याल l म जर्मनीको डुसेल्डोर्फबाट बोलिरहेको छु l अबको १ घन्टाको बसाइमा आज, नयाँ वर्षको शुभकामना विशेषमा छलफल हुनेछ l साथमा तपाईका सल्लाहसुझाव र प्रतिक्रिया पनि समावेश गर्ने नै छौ l हामीसंग शुभकामनासम्बन्धी नेपाली गीतहरु पनि छन, नयाँ वर्षबारे एक घण्टाको भलाकुसरी शुरु गरौ l कम्प्युटर वा रेडियोलाई अलिक नजिक राख्नुस न है ? ..................
नेपालमा साँस्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रम, खेलकुद प्रतियोगिता र वनभोजको आयोजना गर्ने, भेटघाट, शुभकामना तथा उपहारहरु आदानप्रदान गर्ने गरेर नयाँ वर्ष मनाउने गरिन्छ । नयाँ वर्षमा साथीभाइ वा आफन्तहरु जम्मा हुने, खानपीन गर्ने, रमाइलो गर्ने साथै नराम्रा बानी त्यागेर नयाँ र सिर्जनशील कामको थालनी गर्ने पनि गरिन्छ । सन्चारमाध्यमहरुमा गतवर्षको समीक्षा गर्ने चलन रहेको छ । नयाँ वर्षमा घर, कोठालाई ताराजस्ता चम्किने वस्तुबाट सजाउने र झिलिमिली बनाउने गरिन्छ । आफन्तलाई घरमा निम्ता गर्ने वा आफन्तको घरमा निम्ता मान्न जाने गरिन्छ । विभिन्न प्रकारका मिस्ठान्न भोजन, मिठाइ, फलफूल आदि बनाइन्छ र खाइन्छ । घरमा विभिन्न प्रकारको बत्ती बालेर झिलिमिली पारिन्छ । ठिक १२ बजेको घडी हेरी नयाँ वर्षको स्वागत गर्ने गरिन्छ ।
नयाँ परिवर्तन, नयाँ प्रगति, नयाँ उमंग, नयाँ परिवेश, नयाँ वातावरण, नयाँ अनुभव तथा नयाँ जिन्दगी हाम्रो अपेक्षा l शान्त, सुखी र समृद्ध गाउंहरु, जिल्ला र देश हाम्रो कामना l वसन्तसँगै देशमा लाली छाओस, सबै नेपालीको मुहारमा हाँसो खुशी पलाओस । कोही भोको नाङ्गो रहन नपरोस । रीस राग र बेमेल हटून, सबैको बेथा, पीडा नाश होस, सदिच्छा पूरा होउन, अनिश्चितता र विवाद हटून । नयाँ युगको शुरुवात होस हाम्रो यही शुभकामनासहित लोचन भट्टराई, सपना श्री, रामक्रिष्ण ढकाल, यम बराल, सुरज थापा र किरण कँडेलको स्वरमा सुन्नुहोस यो शुभकामना गीत
पहिलो गीत (नेपालीलाई शुभकामना .................)

नयाँ वर्ष संसारमै सबैभन्दा लोकप्रिय पर्व हो । सबैलाई चासो हुनु स्वभाविक हो कि यो कसरी शुरु भयो होला र यसको महत्व के होला भनेर ? करिब २,००० वर्ष पहिले मेसोपोटामियाबाट नयाँ वर्षलाई चाडको रुपमा मनाउने चलन चलेको बताइन्छ । ग्रीक पात्रोमा मार्च १ लाई नयाँ वर्ष मानिन्थ्यो । ग्रीक पात्रोमा १० वटा महिनाहरु थिए । अंग्रेजी पात्रो अनुसार जनवरी १ लाई ४६ ईशापूर्वमा वर्षको शुरुवातको दिन भनेर घोषणा गरिएको थियो ।मानिसहरुले धेरै वर्षपछि यसलाई नयाँवर्षको रुपमा मनाउन थाले । १५३ बिसीबाट यसलाई मनाउन थालिएको र १५७ एडीमा अङ्ग्रेजी पात्रोमा नयां वर्षको दिन भनेर जनवरी १ लाई निर्धारण गरेको पाइन्छ l धेरै देशहरुमा अङ्ग्रेजी पात्रोको प्रयोग गर्ने भए पनि नेपालीजस्तै थुप्रै खालका पात्रोहरु हुन्छन । अघिल्लो वर्षको समाप्ति र नयाँ वर्षको शुरुवात नै नयाँ वर्षको दिन हो । नयाँ वर्षमा देशको पात्रो अनुसार छुट्टी दिने परम्परा हुन्छ ।
जापानमा गान्तान साइ वा ओशोगात्सु भनेर जनवरी १ लाइ नयाँ वर्षको रुपमा मनाउने गरिन्छ । कोरियामा सोल नाल भनेर जनवरी २१ लाइ नयाँ वर्ष मनाउने गरिन्छ । इजरायलमा सेप्तेम्बर १६ लाई तिशेरेइ भनेर नयाँ वर्ष मनाइन्छ । नेपाली पात्रो चाहि भारतका एक प्रसिद्ध राजा विक्रमादित्यले साकास नामका शत्रुलाई हराएको समयदेखि शुरु भएको मानिन्छ । यो इशापूर्व ५७ सालको कुरा थियो ।
हामी कार्यक्रमको आठौ सृंखलामा छौ र आज हामी छलफल गर्दैछौ - नयाँ वर्षको शुभकामना विषयमा l हामीलाई थुप्रै मित्रहरुका शुभकामना सन्देशहरू प्राप्त भएका छन l ती सबैलाई स्थान दिने योजना बनाएका छौ आज l एकजना साथी हाम्रो सम्पर्कमा आएर छोटो सन्देश सुनाउन तयार हुनुहुन्छ सुन्नुहोस उहाँको सन्देश........ (गोबिन्द न्यौपानेको सन्देश, पाल्पा, KSA को सन्देश)
भातृत्वको विकास र मेलमिलापको लागि प्रेमको आवश्यकता छ । हामी एकआपसमा मिल्न सकेनौ भने ठूला ठूला चोट, धोका, विनाश र नोक्सान ब्यहोर्नुपर्दछ । बेमेलले रुवाउने हुँदा एक आपसमा प्रेम र भात्रित्वको नितान्त जरुरी छ ! नयाँ वर्षको अवसरमा नवोदित गायक दीलिपकुमार श्रेष्ठले माया प्रेमको मन छुने किसिमले बर्णन गर्नुभएको छ यसरी...................
दोश्रो गीत (सागरभन्दा गहिरो माया............................)

आज हामी छलफल गर्दैछौ - नयाँ वर्षको शुभकामना विषयमा l हामीलाई थुप्रै मित्रहरुका शुभकामना सन्देशहरू प्राप्त भएका छन । यी सन्देशहरु पक्कै पनि समावेश गर्नेनै छौ । तर हामीसँग एकजना साथी सम्पर्कमा आउंनुभएको छ कहाँबाट को हुनुहुन्छ हामी उहाँलाई स्वागत गर्छौ र नयाँ वर्षसम्वन्धी सन्देश लिन्छौ । (मीना बान्तवासँगको कुराकानी) नयाँ वर्षमा घरमा भए आमाले पकाउनुभएको सेल र दाउराको आगोमाथि झांगामा भुटेको मासु कत्ति स्वादिलो हुन्थ्यो । ९ वर्ष पहिले नयाँ वर्षमा कुँडेबाट निकालेर तात्तातै खीर खाँदै गर्दा खड्कुलोको पानी सेती भैसीलाई दिनुपरेको याद आयो आज । किन कि गह्रुङ्गो थियो क्यारे, खड्कुलो हातबाट फुस्किएछ । म हुत्तिएर माउ बसेको खोलेसमा ठोक्किएछु । चिरङ्गोमै खोलेस बनाएको थियो माउले, ३ वटा फुल फुटालिएछ । आमा र बज्यै हाँस्तै भन्नुभाको थियो - नयाँ वर्षमा पनि के गाली गर्ने ? जे भयो भयो । टन्न खाइयो, बज्यै कहिले चर्खा त कहिले फिर्केमा ऊन काट्दै हुनुहुन्थ्यो, बुवा बख्रालो खिर्‍याउदै । आमाले अर्चेभरि सेलरोटी पोल्नुभएको थियो । मेरो कान्छो भाइ अलिक् चकचके थिए । दारको रुखमा सुरेली खेल्दै हाम फाल्ने खेल्दै रहेछन् मलमा । जोडजोडले रुन्छन् बा चिच्याएर, म दगुर्दै गएँ र बोकेर ल्याएँ, निधार ठोकेका रहेछन् ढुङ्गामा । बुवाले ठट्टा गर्दै भन्नुभएको थियो - कान्छाले नयाँ वर्षमा निधार ठोकेछन् अब भाग्यमानी हुन्छन् । कतारको दोहामा ५४ डिग्री सेन्टीग्रेडमा पनि काम गर्ने प्यारो कान्छा भाइ, सायद यो वर्षदेखि हामी भाग्यमानी हुन्छौ होला । भाइ, विदेश पसि हालियो, रहर थिएन बाध्यताहरु थिए । दिनरात देशको सम्झनी आउंछ । देशको राजनीतिक व्यवस्था र परिपाटीमा सुधार होस्, सबै नेपालीलाई विदेशमा आउंन नपरोस् हाम्र यी कुरा सम्बन्धित नेताहरुको कानसम्म पुगोस् । नयाँ वर्षमा यसता समस्याहरुको समाधान होउन् यहि शुभकामना है त भाइ ?
तेस्रो गीत (के दिउ त शुभकामना ........................)

तपाई भर्खर मात्र radiotitan.com लग अन गर्नुभएको छ वा सयपत्री एफ.एम. ट्युन गर्नुभएको छ भने हामी साथमा छौ कार्यक्रम हाम्रो चाहनामा l यस कार्यक्रममा तपाईको चाहना, प्रवासीको चाहना वा नेपालमा रहनुभएकाहरुको चाहना, समग्रमा हामी सम्पूर्ण नेपालीहरुको चाहना समेटिन्छ l तपाईका चाहना पनि भनुं भनुं लागेका छन् भने कृपया, हामीलाई जानकारी गराउनुहोला l हामी यहाँको चाहना सकेसम्म छिटो कार्यक्रममा समेट्ने छौ l तपाईको साथमा छु म योगेन्द्रमिलन छन्त्याल, म अहिले जर्मनीको डुसेल्डोर्फबाट बोलिरहेकोछु l
अब हामी स्रोताहरुका शुभकामना सन्देशहरु लिदैंछौ । यसैक्रममा तेजेन्द्र चालिसे : दुई आँखा चिम्ले मनमा आयो तपाईंको सम्झना, कल्पना गरे केही दिन खोजे भेटाएँ शुभकामना, झर्ना झै चोखो बगी नै रहोस् मनका ती भावना । फूल झै हरपल फुलीनै रहोस्, प्रगति र चाहना ।। नाम र कीर्ति फैलिनै रहोस्, सिद्ध होस् कामना । नव बर्ष २०६७ सुखमय बनोस्, यही छ मेरो शुभकामना।।।
तीर्थ छन्त्याल : के गर्नु नयाँ वर्षमा परिवार र साथीभाइसँगसँगै बसेर मनाउन कति मन लाग्छ तर पनि मनाउन सकिएन । आज यो कार्यक्रममार्फत नै भए पनि म मेरो घरपरिवारको साथै मेरा साथीहरु बरङ्जा गाबिस सोलेधारा बस्ने रेशम बुढाथोकी, बिम गाबिस बाइन्दोफाट बस्ने नरप्रसाद र उहाँको श्रीमती भिमसरा जुग्जाली, अर्थुङ्गे बस्ने गंगा बानिया, चन्द्रकला किशान, पोखरा गन्डकी एफएममा काम गर्ने पर्बिना गोलेलाई नयाँ वर्षको शुभकामना । साथै कार्यक्रम सन्चालक योगेन्द्रमिलन छन्त्याललाई पनि नयाँ वर्षको शुभकामना । 
रमेश ठकुल्ला : नयाँ वर्ष २०६७ ले यहाँहरुका सपना पूरा होउन र यहाँलाई आश्चर्यजनक शक्ति मिलोस कि सफता प्राप्त गर्नलाई ।
सुमेरु त्रिपाथी : प्रचण्ड झैँ गफाडी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेरबहादुर झैँ अनाडी नहुनु, सुर्यबहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारी नहुनु, फोरम झैँ बिखण्डनकारी नहुनु, यहि छ मेरो नयाँ वर्ष २०६७ को शुभकामना । (सुधारेर पढ्ने)
नववर्ष २०६७ को सुखद अवसरमा हामी हाम्रा सम्पूर्ण मित्र, सहयोगी, आफन्त, शुभेच्छुक र हामीलाई चिन्नुहुने सम्पूर्ण महानुभावहरुमा सु-स्वास्थ्य, दीर्घायु तथा उतोरोतर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ l विजय खड्का, यु दि जङ्, दिपेन्द्र थापा, नारान कार्की, लालकुमारी रोका, नीर बि क, गोपाल अध्, ठकिन्द्र लिम्बु, शाश्वत नरेन्द्र, नारायण बस्नेत, बोगटी लोकदीप, अनिलबाबु नमला, श्रेया अभियोगी, गणेश न्यौपाने, पुष्प ओली हामी एक अर्कालाई दोष लगाउनु हुँदैन किनकि अरुलाई दोष लगाएर हामीले सफलता पाउंदैनौ, हाम्रो सोच सकारात्मक हुनुपर्छ l त्यसैले होला लेखनाथ पौड्याल लेख्नुहुन्छ : मत्ता हात्ती हलुङ्गो, विवत जलधिको ह्वेल माछो हलुङ्गो, जङी बेडा हलुङ्गो, विकट कटकटे रेलगाडी हलुङ्गो । शैलश्रेणी हलुङ्गो, प्रिथुतम पृथ्वी गोल सारा हलुङ्गो, यो ब्रह्माण्डै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो । सबै नेपाली अब फूल बन्नुपर्छ, नेपाललाई फूल देख्नुपर्छ । काँडाहरु हटाउनुपर्छ, रातमा टहटह जून देख्नुपर्दछ । मन सङ्लो बनाउनुपर्दछ, सकारात्मक सोच र सबै जुटेर नयाँ वर्षसँगै नेपाललाई शान्त, समृद्ध र सम्पन्न देश बनाउन लागिपर्नुपर्दछ । यही आह्वान गर्नुभएको छ गायिका आनी चोइङ्गले । फूलको आँखामा फूलै संसार.......
चौथो गीत (फूलको आँखामा फूलै संसार..........................)

हामी आज नयाँ वर्षमा प्रवेश गरेका छौ, त्यसैले आजको कार्यक्रममा नयाँ वर्षको शुभकामना विषयमा छलफल गरिरहेका छौ । नयाँ वर्ष २०६७ को पूर्वसन्ध्यामा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी दिनमा नेपालको लोकतन्त्र अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभएको छ । ओबामाद्वारा शुभकामना वक्तव्यमा नयाँ संविधान लागू भएपछि नेपाल समृद्धि र प्रगतिको बाटोमा अग्रसर हुने र दुई देशबीच सुमधुर साझेदारी तथा भातृत्वको कामना पनि गरिएको छ ।
नयाँ वर्ष २०६७ ले नेपाली दाजुभाई तथा दिदिबहिनी हरुमा एकता र सद्भाबको दियो बालोस भन्ने कामना गरिरहेका छौ आज हामी । हाम्रा आफन्त इष्टमित्र र शुभेच्छुकहरुलाई पनि सु-स्वास्थ्य, दीर्घायु तथा उतोरोतर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरिरहेका छौ । यसरी नै हाम्रा स्रोताहरुबाट हामीलाई शुभकामना सन्देशहरु प्राप्त भएका छन् : हामीलाई प्राप्त सन्देशमा टिकाराम सुन्चोरी : सम्पूर्ण साथीहरूमा नव बर्ष २०६७ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। हाम्रो चाहना अनुसारको देश बन्न सकोस र नयाँ नेपालको नौलो मुहार देख्न पाइयोस ! साथै नवबर्षले तपाईमा नयाँ जोश जागर र उमङ्ग ल्याओस। तपाईले चालेका प्रत्येक पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन, सुस्वास्थ्य एबम दीर्घायुको कामना गर्दछु। साथै "हाम्रो चाहना"कार्यक्रमको उतोरोतर प्रगतिको कामना गर्छु।
गणेशकुमार तुम्बा : सबैलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ! नयाँ वर्षमा सबैमा ख़ुशी छाओस् l
कमल खनाल : हामी नेपालीले चाहेको पनि देशमा सुख, शान्ति र सन्तुष्टिमा जीउने वातावरण नै हो नि योगेन्द्रजी होइन र ?
बलमान छन्त्याल : सम्पूर्ण नेपालीमा नयाँ आशा, नयाँ जोशमा प्रगतीको सुअवसर मिलोस।।।।नयाँ बर्षको सुखद शुभकामना !
विष्णु मणि नयाँ वर्षको सबै साथीहरुलाई शुभकामना ! र मेरो एकजना विशेष साथीलाई पनि नयाँ वर्षको शुभकामना है भन्नुभाको छ ।
यसैबीच शुभकामना सन्देश दिन एकजना साथी हाम्रो सम्पर्कमा आउंनुभएको छ उहाँलाई स्वागत गर्छौ हामी : (सुरेश छन्त्यालसँगको कुराकानी)
विदेश पसियो, धेरै साल बसियो । छोराले विदेशमा कमाउंदै छ भनेर बुवा बित्नुहुंदा पनि खबर दिनुभएनछ घरबाट । एकजना युवाको भनाइ हो यो, युवा मित्र सम्झनुहुन्छ आमालाई - पिढीमा बस्दै छोरो फर्कला भनेर आमा मलाई सम्झदै रुनुहुन्छ होला । न चिठी न खबर हुंदा चोली नै आँशुले भिजाउनु हुन्छ होला । काम गर्न सक्नुहुन्न होला, भोकै बस्नुहुन्छ होला । जाडोमा टालेफाटेका लुगा पनि नहुँदा काम्नुहुन्छ होला । घर भत्केर पिढीमा पानीको आहाल बनेको छ होला, यी मित्रको घरमा मात्र हैन, लाखौ आमाहरुको नेपालमा बेहाल होला नयाँ वर्षमा पनि ......यो मेरो भनाइ कहाँ हो र ? कलाकार बुद्धिक्रिष्ण लामिछानेलाई सोध्नुस् है बाँकी कुरा ?
पाँचौ गीत (मलाई नै सम्झेर...............................)

देश र प्रवासमा रहेका सबै नेपालीहरुको भावी सपना समेटिने सचेतनामूलक र सांगीतिक कार्यक्रम हो - हाम्रो चाहना l यो कार्यक्रम जर्मनीबाट संचालन हुन्छ तपाईको साथमा रहने गर्छु - म योगेन्द्रमिलन छन्त्याल l कार्यक्रम अहिले अनलाइन रेडियो टाइटन र सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज बागलुंगबाट प्रशारण भैरहेको छ l कार्यक्रममा सामाजिक, आर्थिक, साँस्कृतिक र राजनीतिक समस्याका कारण उत्पन्न बेरोजगार, अभाव, अन्याय, अत्याचार, अस्थिरता र असमानताको चर्चा गरिन्छ l प्राकृतिक स्रोत र परिवर्तनका लागि उठाइएका आवाजहरुलाई पनि कार्यक्रममा समेटिन्छ l निचोडमा पछाडि पारिएका वर्गका चाहना बोल्ने गरिन्छ l जो कसैको उपयुक्त लेख-रचना, विचार र सन्देश समेटिन्छ कार्यक्रममा l भेटवार्ता, फोनवार्ता र छलफल पनि चलाइन्छ l लोकतन्त्र र जनजीविकाका सवालमाथि छलफल चलाउंदै कार्यक्रमले राष्ट्रियता, अग्राधिकार, दीगो शान्ति र चरणवद्ध विकासका लागि सचेत र सामेल हुनका लागि निरन्तर अनुरोध गर्नेछ l
आज हामी नयाँ वर्ष २०६७ को शुभकामना विषयमा छलफल गरिरहेका छौ l फेरि शुभकामना सन्देशहरु : प्रेम काउचा मगर बाग्लुङ बजार : बसन्तको आगमन सँगै नव बर्षले नयाँ उत्साहको बिहानि ल्याओस ! प्रगतिको पथमा अघी बढेका पाइलाहरुले सफलाताको खुशि छाओस!! ३६५ दिन नै खुशीको उमङ्ग छाओस दु:ख र निराशा कहिले न- आओस! अनि उच्च रहोस चाहाना सच्च रहोस् भावना यही छ मेरो सबैमा २०६७ सालको हार्दिक मङ्गलमय शुभकामना!!!
रमेशप्रसाद न्यौपाने, हाल दुबइ, हेटौंडा नगरपालिका ८, मकवान्पुर : नयाँ वर्ष २०६७ को पुनीत अवसरमा सर्बप्रथम मेरो बुवा चन्द्रशेखर न्यौपाने, ठुलबाबा श्री कृष्णप्रसाद न्यौपाने, काकाहरु हरिप्रसाद न्यौपाने, मिनाप्रसाद न्यौपाने, केशब दाइ, राजन दाइ, बद्री दाई, सुपिङको बुवा मम्मी अन्कित दाई, मेरो माया कलबती पुडासैनि, लगायत सम्पुर्ण हेटौंडावासी मलाई रमेश भनेर चिन्ने सबैलाई शुभकामना लगायत यो कार्यक्रम सञ्चालन गर्ने दाजु र यो रेडियो सुन्ने सबै नेपालीलाई नयाँ वर्षको शुभकामना टक्र्याउँदछु ।
रामकुमार श्रेष्ठ : छन्त्यालजी, यहाँको कामको उच्च प्रसंशा गर्छु । नयाँ बर्ष २०६७ को पावन अबसरमा यहाँहरु र यहाँहरुको परिवारको दीर्घायु, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु र राष्ट्रियताको सवालमा यहाँहरुको योगदान अरु बढी सशक्त हुँदै जाओस - मेरो हार्दिक शुभ-कामना !
राजु सुबेदी, श्रीकृष्ण ढकाल, नारायण बस्नेत, किशोर तन्दुकारगणेश न्यौपाने, फ्लोरेन्स पाठक, आनन्द छन्त्याल, पद्मराज लामिछाने, सन्जीब बोहरा, अन्जली छन्त्याल, खड्क बासु, राम मुकारुङ, लीलाह् थापा, नेपालि आवाज, ..... मुर्ति, दीपक बिष्ट, शसी पोखरेल, सुबेदी पुरुशोत्तम्, नारायण रिजाल, कुशुम मगर, सुमन मञ्जरी, विश्व श्रेष्ठ, kक्रिष्ण उपाध्याय, मनिक घिसिङ तामाङ, याम ताम्राकार, देउकर भट्टराई, दिनेश कार्कि, दिनेश रावल, विष्णु भण्डारी, बस्ताकोती गोपाल, राहुल बिस्ट, देव थापा, यारुषा  थिंग
यसैबीच हामीले एकजना साथीलाई स्वागत गर्नुपर्नेभएको छ कहाँबाट को हुनुहुन्छ उहाँलाई स्वागत गर्छौ .... (मनु लोहोरुङसँगको कुराकानी) नयाँ वर्षमा हामीहरु एक अर्काको दीर्घायुको कामना गर्दछौ, हरेक उषामा हाम्रा आफन्तको नयाँ नयाँ प्रगतिको कामना गर्दछौ, गायिका तारादेवीले जस्तै ...
छैठौ गीत (शुभकामना भरि .............................)

स्रोता, यहाँलाई फेरि स्वागत छ कार्यक्रम हाम्रो चाहनामा l तपाई अनलाइन रेडियो टाइटनको radiotitan.com लग अन गरेर यो कार्यक्रम सुन्दैहुनुहुन्छ l यसैगरी धौलागिरी आसपासका १७ जिल्लाहरूमा सयपत्री एफ एम ९१.६ मेगाहर्ज बागलुंगबाट यो कार्यक्रम सुनिरहनुभएको छ l साथमा छु म योगेन्द्रमिलन छन्त्याल l यहाँले archive.org र फेसबुकमा हाम्रो चाहना सर्च गरेर पनि यस कार्यक्रमका सबै अंकहरु सुन्न सक्नुहुनेछ l साथै chhantyal-blog, nepalgerman news, peopleboat.com र nepalaustralianews.com मा पनि यहाँले हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ l
स्रोता, अब तपाईबाट प्राप्त सल्लाहसुझाव र प्रतिक्रियाको पालो l कार्यक्रम "हाम्रो चाहना"लाई माया गरेर थुप्रै स्रोता र शुभचिन्तकहरुबाट प्रतिक्रियाहरु प्राप्त भएका छन l प्राप्त प्रतिक्रियाहरु लिंदैछु म अब
नरदेव चापागाई : तपाईको कार्यक्रम निकै राम्रो लाग्यो यस कार्यक्रमलाई निरन्तरता दिनुहोला हाम्रो शुभकामना छ ।
लालकुमारी रोका, सुमन घिमिरे, शम्भु राई : सफलताको शुभकामना र निरन्तरताको कामना !
छन्त्याल नबीन : धेरै धन्यवाद है !जर्मनीमा भए पनि नेपालबारे संसारभरका नेपालीहरुलाई सन्देश पुर्‍याउनुभएकोमा ! अझै राम्रा राम्रा सन्देशहरु प्रस्तुत गर्नुहुने छ भन्ने आशा राखेको छु !
तीर्थ छन्त्याल : योगेन्द्रजी तपाईंको कार्यक्रम म पाचौँ अँकदेखि सुनिरहेको छु । पहिले मैले थाहा पाएर पनि ईन्टरनेटको समस्याले सुन्न सकेन । अहिले मलाई तपाईंको कर्यक्रम सुन्न नपाउदा मनै खल्लो हुन्छ। मजस्तो हजारौ नेपालीको मुटुको ढुकढुकी बनेको छ अहिले यहाँ यो कार्यक्रम । किनकी रमाइलो, रोचक र जानकारीमूलक पनि छ । थुप्रै साथीहरुले खोइ हाम्रो त कम्प्युटर छैन कसरी सुन्ने सुन्न मन लाग्ने कार्यक्रम रहेछ के गर्नु भन्ने गर्नुहुन्छ । ती साथाहरुलाई म मेरो कम्प्यूतर् लगेर सुनाउने पनि गरेको छु । अरु साथीहरुले पनि यस्तो गरिरहनु भएको छ । जे होस् योगेन्द्रजी, तपाईंलाई हामी सबैको सहयोग छ, निरन्तरता दिनुहोला ।
हिमाली स्वरहरु : धेरै राम्रो लाग्यो हाम्रो चाहना..निरन्तरताको कामना गर्दैछौ... न्युयोर्क शहरबाट तयार पारिएको हिमाली स्वरहरु, नेपाली अनलाइन रेडियो पनि फुर्सदमा सुन्नुहोला... नेपाली मन र नेपालीपन संसार भरि सुनाऔ
मीरा थापा, जेम्स बेन होक्मा, आकांक्षा शर्मा, मिङमा शेर्पा : कार्यक्रम धेरै राम्रो छ, निरन्तरता दिनुहोला ।
मेख राना, गणेशकुमार तुम्बा, शाही केबी : प्रगतीको लागि धन्यवाद, सफलताको कामना गर्दछु
विश्व छन्त्याल : नयाँ वर्षको शुभकामना र दाजुको प्रगतिको शुभकामना दिन चाहन्छु ।
उदय तामाङ : यो रेडियोको वेब्साइट छ भने मलाई पठाइदिनुस् साथीहरु सुन्न मन लाग्यो मलाई ।
हेम दाहाल : धन्यबाद मिलनजी, तपाइले बिदेशमा बसेर जुन अथक परिश्रम र मेहनतकासाथ् सचेतनामूलक रेडियो कार्यक्रम चलाउनुभएको छ, त्यसको सह्राहना गर्ने शब्दनै खोज्नुपर्छ किनभने विदेशमा हामी रहरले मनोरञ्जन गर्न आएका छैनौ यो भनेको हाम्रो बाध्यात्मक स्थिति हो । जुन हाम्रा देश बनाउछु भन्ने राजनेताले सृजना गरेका छन् । त्यस्तो विकृतिलाई सच्याउन तपाईले यहि बसेर संदेश दिनुभएको छ । यो चुनौतीपूर्ण काम, समाजमा चेतना छर्ने, विसंगति र बिकृतिलाई हटाउन संदेश दिने, आफ्नो मातृभूमिको माया र अपनत्व झल्काउने, बिबिध काम तपाइँको रेडियो कार्यक्रममा पाएँ । त्यसैले मैले पनि तपाइको कार्यक्रमलाई मेरो साइटमा राखेको छु र तपाईको यात्राको निरन्तरताको कामना गर्दछु । हामी नेपाली सधैभरि बिदेशीको गुलाम मात्र भएर बस्नु भन्दा, कहिले पनि नभरिने लालच त्यागी, आफ्नो सानो तिनो अप्ठ्यारोलाई सुल्झ्याइ आफ्नै देशको विकाश गर्न जाऔ । तपाई हाम्रो १ वा २ जनाको सुख सुविधाले मात्र ३ करोड नेपालीको आशा भरोसा पूरा हुदैन । जुन ठाउँबाट सहयोग गर्न सकिन्छ त्यसै ठाउँबाट सहयोग गरी विदेश मात्र पलायन हुने भन्ने हल्ला मेटाऔ । त्यसो गरेमा भावना जहिले पनि उचो हुनेछ ।
झापाली कान्छो : DAILLY NEWS HEADLINES पनि दिनु पर्‍यो है रेडियो टाइटन्
सम राउत : योगेन्द्रजी,यहाँको जति तारिफ गरे पनि कमै होला सायद । बिदेशमा बसेर पनि आफ्नो देशको माया ममता मुटुमा सङ्गाली जुन काम गर्दै हुनुहुन्छ त्यसको लागि मुरी मुरी धन्यवाद । स्वदेशमा बसेर फोहर राजनीति गरेर झुठो राष्ट्रियताको बखान गर्नुभन्दा बिदेशमा बसेर यहाँले देशप्रति गर्नुभएको सेवा कति हो कत्ति बढी सह्राहनीय छ । २०६७ सालको मङ्गलमय शुभकामना ।
सातौ गीत (शुभकामना मेरो धेरै शुभकामना ...................)

तपाईसंग छुट्न मन त थिएन तर के गर्नु ? थाहै नपाइ १ घण्टा सकिएछ l अनि त बिदा माग्नै पर्छ मैले l कार्यक्रमलाई साथ दिनुभएकोमा हार्दिक धन्यवाद l यसपछि रेडियो टाइटन र सयपत्री एफ.एम. का नियमित कार्यक्रममा पनि साथ दिदै रहनुहोला l के हाम्रो चाहनामा तपाईको चाहना पनि समावेश भएको छ त ? छैन भने के गर्नुपर्ला ? सल्लाहसुझाव वा प्रतिक्रिया पठाउनका लागि हाम्रो इमेल ठेगाना रहेको छ : hamrochahana@gmail.com l साथै यहाँले कार्यक्रम हाम्रो चाहना, सयपत्री एफ.एम. ९१.६ मेगाहर्ज पोष्ट बक्स नं. - २९, बागलुंग नगरपालिका - २ बागलुंगको ठेगानामा पत्र पठाउनु भयो भने पनि हाम्रो हात पर्नेछ l नयाँ वर्षमा हाम्रो देशमा सबैको आवाज सुन्ने र सबैको चाहनाको सम्मान हुने वातावरण निर्माण होस् । देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम होस् । सुख, शान्ति र सन्तुष्टिमा जीउने वातावरण बनोस l तपाईको सु-स्वास्थ्य, दीर्घायु तथा उतोरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना l अर्को हप्ता संघीय शासनप्रणाली बारेको समसामयिक छलफल लिएर आउंनेछौ, प्रतिक्षा गर्नुहोला । आजको "हाम्रो चाहना" को प्रस्तुतिबाट म योगेन्द्रलाई आज्ञा दिनुहोस, नमस्कार ! ......